बैशाख ०७, २०८१, शुक्रबार
               

युरोपेली च्याम्पियन्स लिग : बार्सिलोनामाथि बायर्नको जित

नेपाल फ्ल्यास
भदौ ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना घरेलु मैदानमा बायर्न म्युनिखसँग पराजित भएको छ । मंगलबार राति नोउ क्याम्पमा भएको खेलमा बार्सिलोना बायर्नसँग ३ – ० गोल अन्तरले पराजित भएको हो ।

स्टार खेलाडी लियोनल मेस्सी पेरिस सेण्ड जर्मन पुगेपछि सर्जियो बुस्केटको कप्तानीमा उत्रिएको बार्सिलोनाले पहिलो हाफमा १ गोल ब्यहोर्दै दोस्रो हाफमा थप २ गोल खान पुगेको थियो । बायर्नको अवे जितमा रोबर्ट लेवाण्डोस्कीले २ तथा  थोमस मुलरले १ गोल गरे । 

खेलका ३४औँ मिनेटमा बायर्नले अग्रता बनायो । पहिलो गोल थोमस मुलरले गरे । मुलरलाई लोरे सानेको पासमा उपलब्ध गराएका थिए । खेलका ५६औँ मिनेटमा रोबर्ट लेवाण्डोस्कीले दोस्रो अग्रता बनाएका भने ८५औँ मिनेटमा ३–० को अग्रता बनाए ।

समूह ‘इ’ अन्तर्गतको अर्को खेलमा बेन्फिका र ड्यनामो केयीभले गोल सहित बराबरी खेल्दै १–१ अंक बाँडे । जितसँगै समूह ‘इ’ बाट बायर्न तीन अंकका साथ शीर्ष स्थानमा छ । बेन्फिका र ड्यनामोको एक–एक अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहँदा बार्सिलोना पुछारमा छ । 

मंगलबार राति राति नै भएको समूह ‘एच’ को खेलमा साविक विजेता चेल्सी र युभेन्ट्सले विजयी यात्रा सुरुवात गरेका छन् । चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा जेनिट सेण्ड पिटरर्सबर्गलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा निर्णायक गोल यसै सिजन अनुबन्धन भएका रोमेलु लुकाकुले गरे । लुकाकुले ६९औँ मिनेटमा गरेको गोल नै चेल्सीलाई तीन अंकको पर्याप्त रह्यो ।

समूह ‘एच’ कै अर्को खेलमा युभेन्टस्ले घरेलु टोली माल्मोलाई ३–० गोल अन्तरले पराजित गरेको छ । स्विडेनमा भएको खेलमा युभेन्टस्लाई जित दिलाउन एलेक्स सान्द्रो, कप्तान पाउलो डिबला र अल्भारो मोरटाले १–१ गोल गरे । 

युभेन्टस्ले पहिलो हाफमै ३ गोल गरेको थियो । 

खेलको २३औँ मिनेटमा सान्द्रोले युभेन्टस्लाई अग्रता दिलाए । ४५औँ मिनेटमा कप्तान डिबलाले पेनाल्टीमा गोल गर्दा मोरटाले ४५औँ मिनेट पछि थपिएको १ मिनेटमा गोल गरे । 

जितसँगै समान तीन अंक भए पनि समूह ‘एच’ मा युभेन्टस् पहिलो स्थानमा रहँदा चेल्सी दोस्रो स्थानमा छ । बिना कुनै अंक जेनिट र माल्मो क्रमशः तेस्रो र चौथो स्थानमा छन् । 

समूह ‘एफ’ को खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो प्रेरित म्यानचेष्टर युनाईटेड योङ ब्वाईजसँग स्तब्ध भएको छ ।  स्विजरल्याण्डमा भएको खेलमा रोनाल्डोले गोल गरे पनि १० खेलाडीमा सीमित युनाइटेड योङ ब्वाईजको घरेलु मैदानमा २–१ गोल अन्तरले पराजित भएको हो । 

खेलको १३औँ मिनेटमा गोल गर्दै रोनाल्डोले युनाईटेडलाई अग्रता दिलाएका थिए । रोनाल्डोले पोर्चुगिज सहकर्मी ब्रुनो फर्नाण्डेजको पास सदुपयोग गरेका थिए । 

खेलका ३५औँ मिनेटमा युनाइटेड १० खेलाडीमा सीमित भयो । आरोन वान विशाकाले रातो कार्ड पाएर मैदान छाडे ।  दोस्रो हाफमा योङ ब्वाईजले लगातार दुई गोल गर्यो ।

निकालोस नगामालेउले खेलको ६६औँ मिनेटमा बराबरी गोल गरे । थपिएको पाँच मिनेटमा जोर्डन सिएबात्चेउले गोल गर्दै घरेलु टोली योङ बाईजलाई रोमाञ्चक जित दिलाए ।

समूह ‘एफ’ को अर्को खेलमा भिल्लारियल र एटालान्टाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । जितसँगै समूह ‘एफ’ मा योङ ब्वाईज शीर्ष स्थानमा छ । यस्तै युनाइटेड भने पुछारमा छ । अंक बाँडेका एटालान्टा र भिल्लारियल भने दोस्रो र तेस्रो स्थानमा छन् । 

राति नै भएको समूह ‘जी’ मा दुबै खेल बराबरीमा टुंगिएका छन् । सेभिल्लाले रेडबुल साल्जबर्गसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्यो भने लिल्ले र वुल्फस्बर्गले गोलरहीत बराबरी खेले । 

यो पनि