काठमाडौं । मैत्रीपूर्ण दोस्रो फुटबल खेलमा नेपाली राष्ट्रिय फुटबल टिम आज पनि भारतसँग भिड्ने भएको छ । नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग भिड्दै छ । उक्त खेल आज साँझ ५ः३० बजे सुरु हुनेछ ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका रहेको छ। नेपाल र भारतबीचको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
घरेलु दर्शकसामु खेलको ३६ औँ मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ६० औँ मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
पहिलो खेल बराबरीमा सकिएको कारण दुबै टिम दोस्रो खेलमा स्पस्ट जित निकाल्ने योजनामा रहेका छन् । दुबै टोलीका प्रशिक्षकले दोस्रो खेलमा कमीकमजोरी सुधार गर्दै जित निकाल्ने बताएका थिए । नेपालको यस खेल भारतसँगको २१ औँ खेल हुनेछ ।