बैशाख ११, २०८१, मंगलबार
               

ब्राजिल र स्पेन ओलम्पिक फुटबलको फाइनलमा

नेपाल फ्ल्यास
साउन २०, २०७८

ADVERTISEMENT

काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने भएका छन् ।

मंगलबार भएको सेमिफाइनलमा ब्राजिलले मेक्सिकोलाई र स्पेनले जापानलाई पराजित गर्दै फाइनल भेट पक्का गरे ।

ब्राजिल साविक विजेतासमेत हो । लगातार तेस्रो पटक फाइनल पुग्ने क्रममा ब्राजिलले सन् २०१२ को स्वर्ण विजेता मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गरेको हो ।

काशिमा सकर स्टेडियममा भएको पहिलो सेमिफाइनलमा ब्राजिल र मेक्सिकोबीच निर्धारित ९० र मिनेट र थपिएको ३० मिनेटमा समेत गोल हुन सकेन । गोलरहित बराबरी भएपछि खेलको नतिजा सुटआउटबाट लिइएको हो । जसमा ब्राजिलका लागि कप्तान डानी अल्भेज, गाब्रिएल मार्टिनेली, ब्रुनो गुइमाराएस र रेइनरले गोल गरे ।

मेक्सिकोका कार्लोस रोड्रिगेजले मात्र गोल गरे । एडुअर्डो अगुएरे र जोहान भास्क्वेजले गोल गर्न सकेनन् ।

यस्तै दोस्रो सेमिफाइनलमा स्पेनले घरेलु टोली जापानलाई १-० ले हरायो । अतिरिक्त समयमसम्म पुगेको खेलमा मार्को असेन्सिओले निर्णायक गोल गरे । साइतामा स्टेडियममा भएको खेलमा असेन्सिओले ११५ औं मिनेटमा मिकेल ओयाजाबालको पासमा गोल गरेका थिए ।

अब स्वर्णका लागि ब्राजिल र स्पेनबीचको खेल आगामी शनिबार हुनेछ । त्यसअघि शुक्रबार मेक्सिको र जापानबीच कास्य पदकका लागि खेल हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि