टोकियो । अमेरिकन पौडीबाज सेलेब ड्रेसलले जापानमा भइरहेको टोकियो ओलम्पिकमा १०० मिटर बटरफ्लाईमा नयाँ विश्व कीर्तिमानसहित स्वर्ण जितेका छन् ।
शनिवार भएको फाइनलमा उनले ४९.४५ सेकेण्डको टाइमिङ निकाल्दै स्वर्ण जिते । उनले सन् २०१९ को वर्ल्ड च्याम्पियनसिपमा आफैंले बनाएको ४९.५० सेकेण्डको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।
हंगेरीका क्रिस्टोफ मिलिकले ४९.६८ सेकेण्ड सयसहित रजत जिते भने स्विट्जरल्याण्डका नोए पोन्टीले ५०.७४ सेकेण्ड समयसहित कास्य जिते ।
यसपटक १०० मिटर बटरफ्लाइमा रियो ओलम्पिकमा पदक जितेका कोही खेलाडी फाइनलमा थिएनन् । त्यसैले यस पटक पदक जित्ने सबै नयाँ खेलाडी रहे ।
२४ वर्षीय ड्रेसलले टोकियोमा जितेको यो तेस्रो पटक हो । यसअघि उनले चार गुणा १०० मिटर फ्रिस्टायल र १०० मिटर फ्रिस्टाइलमा स्वर्ण जितिसकेका छन् । १०० मिटर फ्रिस्टाइलमा उनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका थिए ।
उनी ५० मिटर फ्रिस्टाइलमा पनि फाइनल पुगेका छन् । शनिवारै भएको मिक्स्ड चार गुणा १०० मिडले रिलेमा भने ड्रेसलसहितको टिमले कुनै पदक जित्न सकेन । अमेरिकन टीम यस इभन्टमा पाँचौ स्थानमा रह्यो ।
ड्रेसललाई नेक्स्ट माइकल फेल्प्सको रुपमा समेत हेरिएको छ । ओलम्पिक इतिहासमा सबैभन्दा धेरै २३ स्वर्ण जित्ने कीर्तिमान बनाएका फेल्प्सले सन् २००८ को बेयजिङ ओलम्पिकमा प्रतिस्पर्धा गरेका सबै ८ इभेन्टमा स्वर्ण जितेका थिए ।
२०१६ मा भएको रियो ओलम्पिक पछि फेल्प्सले सन्यास लिए । त्यसपछि धेरैले ड्रेसललाई पौडीमा नयाँ स्टारका रुपमा हेरेका छन् । रियो ओलम्पिकमै उनी र फेल्प्ससहितको टिमले चार गुणा १०० मिटर फ्रिस्टाइल रिलेमा स्वर्ण जितेका थिए । यस्तै चार गुणा १०० मिटर मिडले पनि ड्रेसलसहितको टिमले स्वर्ण जितेका थिए । त्यतिबेला उनी १९ वर्षका थिए । त्यसबेला १०० मिटर फ्रिस्टायल ड्रेसल छेटौं भएका थिए ।
ड्रेसलले त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले २०१७ को फिना वर्ल्ड च्याम्पियनसिपमा ७ स्वर्ण जितेका थिए । यस्तै २०१९ को वर्ल्ड च्याम्पियनसिपमा ६ स्वर्ण र दुई रजत जितेका थिए ।