जेठ ०८, २०८१, मंगलबार
               

नेपालको ओलम्पिक यात्रा : खेलाडी ओझेल, पदाधिकारीको जालझेल

नेपाल फ्ल्यास
साउन ०५, २०७८

ADVERTISEMENT

यसपटकको ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडी सहभागी हुँदै छन् । तर खेलाडी भन्दा पाँच गुणा बढी पदाधिकारी पुगेका छन् ।

कुनै पनि ठुला अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा खेलाडी तथा प्रशिक्षकभन्दा पदाधिकारी बढी जानु नेपालको लागि सामान्य भइसक्यो । आसन्न टोकियो ओलम्पिकको बहानामा नेपाल ओलम्पिक कमिटीका पदाधिकारी जापान शयर गर्न पुगेका छन् । अहिले ओलम्पिक कमिटीका पदाधिकारी सहभागी हुने संघका अफिसियलका रूपमा जापान पुगेका छन् ।

शुक्रबारबाट सुरु हुने टोकियो ओलम्पिकको तयारी लगभग पुरा भएको छ । प्रतियोगिताका लागि सबै देशका खेलाडी टोकियो पुग्ने क्रम जारी नै छ । शुक्रबार हुने उद्घाटन समारोहमा नेपालका लागि पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले झन्डा बोक्नेछन् । 

ओलम्पिकमा अध्यक्ष र महासचिवलाई आमन्त्रित गरिन्छ । टोकियो ओलम्पिकको निमन्त्रणामा अध्यक्ष जीवनराम श्रेष्ठ तथा महासचिव निलेन्द्रराज श्रेष्ठ टोकियो पुगेका छन् । त्यसबाहेक राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष तथा ओलम्पिक कमिटीका सहसचिव पीताम्बर तिम्सिना एथलेटिक्सको अफिसियल भएर ओलम्पिक सहभागिता जनाएका छन् ।

एमाले नेता बामदेव गौतमकी श्रीमती तुल्सी थापा जुडोको अफिसियलको कोटामा त्यहाँ छिन् । उनी कबड्डी संघको अध्यक्ष हुन् ।

उपाध्यक्ष सुुनिलकुमार श्रेष्ठ सुटिङको अफिसियल भएर त्यहाँ पुगेका हुन् । चतुरानन्द वैद्य ओलम्पिकमा टिमको प्रशासनिक कर्मचारी भएर गएका हुन् । राम अवाले स्विमिङका प्रतिनिधि भएर पुगेका छन् । जबकि यी सबै ओलम्पिक बोर्ड सदस्य हैसियतले त्यहाँ पुगेका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने सहचारीका रूपमा जाँदै छन् । त्यस्तै राखेपका सदस्य सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ प्रशासनिक कर्मचारीको रूपमा टोकियो गएका छन् । १६ जनामध्ये एक स्वयंसेवक भने एक मेडिकल स्टाफ हुन् । 

जापानले नेपाललगायत दक्षिण एसियाली मुलुकलाई जापानले कोरोना संक्रमणको उच्च जोखिम भएको सूचीको ए श्रेणीमा राखेको छ । यस्तो बेलामा खेलाडीलाई चाहिने अन्य सहयोगी जस्तै फिजियो, डाक्टरलाई प्राथमिकता दिनुपर्ने हो ।

छिमेकी देश भारतबाट २ सय २८ सदस्यीय टोली जापान पुगेको छ । टोलीमा एक सय १९ खेलाडी हुँदा मात्र ८ जना अन्य पदाधिकारी छन् । बाँकी मेडिकल स्टाफ, फिजियो थेरापिस्ट, वैज्ञानिक डाक्टर, भिडियो एनालाइसिष्ट, खेल विज्ञ र सम्बन्धित खेलका टिम व्यवस्थापक हुन् । नेपालको हकमा भने अन्य कुनै संघका पदाधिकारी अन्य खेलको व्यवस्थापक भएर गएका छन् । 

ओलम्पिक जस्तो ठाउँमा खेलसम्बन्धी विज्ञ जानुपर्ने हो । अथवा खेलाडीलाई प्राविधिक रूपमा सघाउने तथा सम्बन्धित खेलका पदाधिकारी प्राथमिकता दिनुपर्ने हो । तर त्यस्तो हुन सकेको छैन । कोरोनाको विषम परिस्थितिमा पनि पदाधिकारी हाबी हुनुले अन्तर्राष्ट्रिय मञ्चमा गलत सन्देश जान्छ । 

नेपालबाट टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीहरू युनिभर्स्यालिटी प्लेस र वाइल्ड कार्ड कोटामा परेका हुन् । आखिर नेपाली खेलाडीले यस्तो कोटामा कहिलेसम्म भर पर्नुपर्ने हो, त्यसता उनीहरूको ध्यान गएको छैन । 

नेपाली खेलाडीको प्रतिस्पर्धा

उद्घाटन समारोहको भोलिपल्ट अर्थात् जुलाई २४ मा नेपालको प्रतिस्पर्धा रहेको छ । जसमा नेपालबाट वाइल्डकार्ड पाएर टोकियो पुगेका जुडो र सुटिङका खेलाडीको प्रतिस्पर्धा छ । जुडोमा सोनिया भट्ट र सुटिङमा कल्पना परियारले ओलम्पिकमा आफ्नो चुनौती पस्किनेछन् । 

जुडोमा सोनियाले ४८ केजी मुनिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् भने सुटिङकी कल्पनाले महिला १० मिटर एयर राइफलमा खेल्नेछिन् । दुवै खेलाडीको चाहना आफ्नो व्यक्तिगत प्रदर्शनका सुधार गर्नु नै रहेको छ । 

जुडो र सुटिङका खेलाडीको प्रतिस्पर्धा सकिएको तीन दिनमा नेपालका पौडी खेलाडी एलेक्स शाहको खेल रहेको छ । उनले जुलाई २७ मा पुरुष एक सय मिटर फ्रिस्टाइलमा खेल्नेछन् । त्यो दिन हिट चरणको खेल हुनेछन् । त्यसमा शीर्ष स्थानमा रहेको खण्डमा सेमिफाइनलमा पुग्नेछ । यो स्पर्धामा एलेक्सकै नाममा राष्ट्रिय कीर्तिमान रहेको छ । त्यसलाई सुधार गर्ने लक्ष्यमा उनी छन् । 

जुलाई २८ मा नेपालकी पौडीबाज गौरिका सिंहको प्रतिस्पर्धा रहेको छ । उनले महिला एक सय मिटरमा खेल्नेछिन् । राष्ट्रिय कीर्तिमानधारी गौरिकाको चाहना हिट चरण पार गर्ने रहेको छ । २०१६ मा रियो ओलम्पिकमा कम उमेरमा यो प्रतियोगिता खेल्ने कीर्तिमान राखेकी गौरिका यसपटक नयाँ उपलब्धि हासिल गर्ने योजनामा छिन् । 

जुलाई ३० तारिखमा नेपालबाट एथलेटिक्समा सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने छिन । गोपीचन्द्र पार्कीले अन्तिम समयमा खेल्न नपाएपछि सरस्वतीलाई टोकियो ओलम्पिकमा चिट्ठा परेको हो । उनी यो प्रतिस्पर्धाका लागि जुलाई २४ मा टोकियो जानेछिन् । 

महिला एक सय मिटरमा प्रतिस्पर्धा गर्ने सरस्वतीले पनि व्यक्तिगत प्रदर्शनमा सुधार गर्ने चाहना रहेको बताउँदै आएकी छिन् । एथलेटिक्सको हिट चरण जुलाई ३० मा हुनेछ । फाइनल इभेन्ट्स जुलाई ३१ मा हुनेछ । 

यसपटकको ओलम्पिकमा प्रतिस्पर्धा सकिएका खेलाडीले लामो समय त्यहाँ बस्न नपाउने नियम छ । प्रतिस्पर्धा सकिएपछि उनीहरू स्वदेश फर्कनु पर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि