जेठ ०९, २०८१, बुधबार
               

क्यानको आन्तरिक किचलोका कारण पुर्णरुपमा निलम्बन फुकवा अन्योलमा

नेपाल फ्ल्यास
साउन ०२, २०७८

ADVERTISEMENT

चार वर्षको प्रतिबन्धपछि २०७६ सालको असोज ११ गते नेपाल क्रिकेट संघमा नयाँ कार्यसमिति चयन भयो । त्यसको केही महिनामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले क्यानलाई शसर्त फुकुवा गरेको थियो । आईसीसीले क्यानलाई आर्थिक पारदर्शीता, सुशासन, कार्यालय व्यवस्थापन लगायतका कुरालाई मुख्य सर्तमा राखेको थियो । यसका साथै आईसीसीले क्यानले पठाएको योजना अनुसार बजेट पठाउने गरेको छ । 

आइसीसीको सर्तलाई कार्यान्वयन गर्नका लागि क्यानले सक्दो प्रयास पनि गर्दै आएको छ । तर, जुन तरिकाले क्यानले आईसीसीको पालना गर्नुपर्ने हो, त्यसमा भने कहिकतै चुकेको जस्तो पनि देखिन्छ । क्यानले अहिलेसम्म अफिस व्यवस्थापन गर्न सकेको छैन । पदाधिकारी नियुक्तिको काम पुरा गरे पनि समयमा नै आफ्नो अडिट रिपोर्ट बुझाउन सकेको थिएन । 

यो बीचमा नेपाल क्रिकेट संघले घरेलु भूमीमा एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय सिरिज पनि गरेको थियो भने घरेलु क्रिकेट सुरु भइसकेका छन् । तर उमेर समुहको क्रिकेट गर्ने योजना क्यानले बनाए पनि कोभिड–१९ का कारण सुरु हुन सकेको छैन । 

यो बीचमा क्यानका पदाधिकारीका सानातिना कुराले किचलो नभएको पनि  होइन । कार्यालय मर्मतका लागि बजेट निकासा गर्दा पदाधिकारीहरू बीचमा किचलो भएका कुराहरू पनि आएका थिए । आईसीसीले राखेका सबै सर्तहरू पालना गरेको बताइरहे पनि क्यानको निलम्बन पुर्णरुपमा फुकवा हुन्छ या हुँदैन त्यौ अझै अनुत्तरित प्रश्नको रुपमा रहेको छ ।

यस्तैमा आइसीसीको आइतबार बैठक बस्दै छ । आइसीसीको बैठक बस्दै गर्दा नेपालको पूर्णरुपमा निलम्बनको एजेन्डा प्राथमिकतामा पर्छ की पर्दैन त्यो पनि प्रतिक्षाको विषय नै छ ।

नेपाल क्रिकेट संघका पदाधिकारीहरुले जुलाईको यो बैठकबाट क्यानको निलम्बन फुकुवा हुने आशा व्यक्त गर्दै सुरुवाती दिनमा बताउँदै आएका थिए । तर, उनीहरूको आशा अहिले निराशामा परिणत हुन थालेको आभास पनि भएको छ ।

क्यानले सबै सर्तहरू पुरा गरेको बताए पनि आईसीसीको निर्देशनमा गर्नुपर्ने केही कामहरू समयमा नै गर्न सकेन । संघमा कर्मचारी चयनको काम गरे पनि काम कर्तव्य बाँडफाँडमा ढिलाई गरेको थियो । कर्मचारीको टिओआर तथा आर्थिक नियमावली पारित गर्न ढिलाई गर्नुका साथै आईसीसीमा समयमै पठाउन सकेन । 

त्यसमा पनि कोभिडका कारण आइसीसीले पनि विभिन्न एजेन्डालाई समाधान गर्नुपर्ने हुँदा नेपालको निलम्बन फुकुवाको एजेन्डा यसपटकको बैठकमा नपर्ने प्रबल सम्भावना रहेको छ । जसका कारण नेपाली क्रिकेट पुर्ण रुपमा फुकुवा हुने संभावना पनि अहिलेका लागि पछि सर्ने देखिएको छ । 

अझै पनि क्यानको कामहरू आईसीसीको नियन्त्रणमा रहेर नै गर्नुपर्ने हुन्छ । आइतबार बस्ने आईसीसीको बैठकले नेपालको निलम्बनमा कुनै निर्णय नगरेको खण्डमा फेरि यो एजेन्डालाई आइसीसीले कहिले बोर्डमा राख्न भन्ने त्यो पनि एकिन छैन । 

क्यान निलम्बन हुँदा नेपाली क्रिकेटको धरातललाई राम्रोसँग बुझेको आईसीसीले नयाँ कार्यसमिति आएपछि पनि केही समय यसको कामलाई निगरानीमा राखेको थियो । अहिले पनि नेपाली क्रिकेटमा हुने गरेका केही सानातिना गल्तिको जानकारी विभिन्न व्यक्तिले आईसीसीमा पुर्‍याउने  गरेको बताइन्छ । जसका कारण पनि अहिलेको कार्यसमितिप्रति आईसीसी अझै पनि पुर्ण रुपमा विश्वस्त हुन नसकेको हो की भन्ने प्रश्न पनि यथावत छ । 

अहिले क्यानले आईसीसीबाट नियन्त्रित ‘फण्ड’ (पैसा) लिइरहेको छ । क्यानले आफ्नो योजनाहरू पठाउने र त्यसका लागि मात्र आईसीसीले रकम पठाउने गरेको छ । त्यसमा अहिले आईसीसीले मुख्य गरेर खेलाडीको तलब, कर्मचारी, ग्राउण्ड स्टाफको तलब र प्रतियोगिता हुँदा क्यानले पठाएको योजना अनुसारको बजेट मात्र ‘रिलिज’ गरेको छ । 

यो पटकको क्यान निलम्बन फुकुवाको पर्खाई क्यानका लागि असफल भएको खण्डमा त्यसको मारमा फेरि पनि नेपाली क्रिकेट पक्कै पर्नेछ । यता क्यानले आन्तरिक रुपमा विभिन्न काम गरिरहेको भए पनि त्यसलाई नतिजाउन्मुख बनाउन प्रयासरत रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि