जेठ ०९, २०८१, बुधबार
               

नेपालले फिलिपिन्समा हुने एसियन महिला भलिबल नखेल्ने

नेपाल फ्ल्यास
साउन ०१, २०७८

ADVERTISEMENT

काठमाडाैं । नेपालले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ । एसियन भलिबल कन्फेडेरेसनले नेपाललाई प्रतियोगिताबाट बाहिर राख्दै खेल तालिका सार्वजनिक गरेको छ ।

एभीसीले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगितामा आठ टोलीले मात्र प्रतिस्पर्धा गर्नेछन् । तालिकामा अब  च्याम्पियनसिपमा आयोजक फिलिपिन्स, थाइल्याण्ड, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपेई, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले सहभागिता जनाउने जनाइएको छ । 

कोरोनाभाइरसका कारण नेपाललाई प्रतियोगितामा समावेश नगरिएको अनुमान गरिएको छ । नेपाल र भारतलाई रेड जोनमा राखिएको थियो । भारतले पनि प्रतियोगिता खेल्ने छैन ।

प्रतियोगिताको लागि नेपालले असार १ गतेबाट तयारी गरिरहेको थियो । बन्द प्रशिक्षणमा १८ खेलाडी रहेका थिए ।

नेपालले पहिलोपटक एसियन च्याम्पियनसिपमा दाबी प्रस्तुत गर्दै प्रतियोगिता खेल्ने तयारी गरेको थियो । नेपाल भलिबल संघले असार १ गतेबाट खेलाडीको प्रारम्भिक प्रशिक्षणसमेत सुरु गरेको थियो ।

प्रतियोगिताको तयारी र सहभागीता सुनिश्चित गर्दै राखेपले समेत आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । तर, अन्तिम समयमा आएर नेपालले प्रतियोगिता नखेल्ने भएको छ ।

संघको छनोट समितिले प्रारम्भिक ३० सदस्यीय टोलीबाट १८ खेलाडी छनोट गरेको थियो । संघले दोस्रो चरणमा ९ खेलाडीलाई बाहिर राख्दै प्रतियोगिताको तयारी तीव्र बनाएको थियो ।

दोस्रो चरणमा मनीषा चौधरी, कविता भट्ट, उषा विष्ट, सोफिया पुन, सुनिता खड्का, रेश्मा भण्डारी, लक्ष्मी चन्द, रिया कुँवर, अरुणा शाही, कृपा अधिकारी, जानकी भण्डारी, प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सरस्वती चौधरी, सरस्वती जैशी र सलिना श्रेष्ठ छानिएका थिए ।

नेपालको महिला भलिबल टिमले २०७६ सालमा एभीसी सेन्ट्रल जोन भलिबल र सागमा ऐतिहासिक रजत पदक जितेपछि महिला भलिबलले थप उचाइ प्राप्त गरेको थियो ।

तर, पर्याप्त अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी बन्न नसक्दा महिला भलिबलले आशातित सफलता हासिल गर्न सकेको छैन । पछिल्लो दुई वर्षको अन्तरमा अन्तिम समयमा आएर महिला टिमले एसियन च्याम्पियनसिप खेल्ने मौकासमेत गुमाएको छ ।

एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।

यो पनि