जेठ ०५, २०८१, शनिबार
               

ग्रिजम्यान एथलेटिकोमा फर्कने, कस्तो बन्ला सिमोनीको नयाँ टिम ?

एजेन्सी
साउन ०१, २०७८

ADVERTISEMENT

एथ्लेटिको र बार्सिलोनाबीच खेलाडी साटफेर गर्ने विषयमा छलफल हुँदैछ । जसअनुसार एन्टोनियो ग्रिजम्यान एथ्लेटिको फर्कनेछन् भने साउल निगुईज बार्सिलोना जानेछन् ।

दुई वर्षअघि बार्साले एथ्लेटिकोबाट ग्रिजम्यानलाई भित्र्याएको थियो । तर, उनको प्रदर्शन पछिल्लो समय खस्केको छ । यता, एथ्लेटिकोमा साउल निगुईज चम्किएका छन् । 

बार्सिलोना र मेस्सीबीच नयाँ सम्झौताका लागि सहमति बनिसकेको छ । यस्तोमा मेस्सीसँगको सम्झौतालाई टुंगोमा पुर्‍याउन बार्सिलोनाले अन्य महङ्गा स्टारहरूलाई बेच्‍नुपर्नेछ । सबैलाई क्लबमा राख्दा बार्सिलोनाको कूल तलब रकमले ला–लिगाको मापदण्ड पार गर्ने भएकाले स्टार खेलाडी बेच्न बार्सा बाध्य बनेको हो । स्पेनमा फुटबलमा टोलीले तलबमा खर्च गर्न पाउने रकमलाई लिएर निश्चित मापदण्ड तोकिएको छ ।

त्यहीकारण अन्य महँगा खेलाडी बेचेर तलब कम कटौती गर्ने, मेस्सीलाई राख्ने अनि कम तलब खाने युवा खेलाडीहरू भित्र्याउने बार्साको योजना छ । मेस्सी आफैंले बार्सिलोनामा ५० प्रतिशत तलब कटौती हुनेगरी सम्झौता गरेका छन् । 

ग्रिजम्यान गएपछि कस्तो बन्ला टिम ?

ग्रिजम्यान फर्किएपछि एथलेटिकोका प्रशिक्षक डिएगो सिमाेनीलाई अग्रपंक्तिमा धेरै विकल्प हुनेछ । अहिले पनि लुईस सुआरेज र जाओ फेलिक्सजस्ता स्टार एथ्लेटिकोमा छन् ।

उमेर बढे पनि सुआरेजको खेलमा कुनै खोट देखिंदैन । उनले गत सिजन एथ्लेटिकोलाई ला–लिगा उपाधि जिताउने क्रममा ३२ खेलमा २१ गोल गरेका थिए । जाओ फेलिक्स यस आक्रामक टोलीका अर्को हिस्सा हुनेछन् ।  यी युवा पोर्चुगालीले गत सिजन निकै उत्कृष्ट खेलेका थिए । तर, चोटका कारण केही समय मैदानबाहिर पनि रहे । यस सिजन शल्यक्रिया गरिसकेकाले उनी फेरि पहिलेजस्तै उत्कृष्ट रहने क्लबको आशा छ ।

आफ्नो रक्षात्मक खेलका लागि चिनिएका सिमोनीले तीन खेलाडीलाई मैदानमा उतारेर यस सिजन टोलीलाई आक्रामक स्वरुप दिनसक्छन् । गत सिजन ला-लिगा उपाधि जितेका सिमोनीको लक्ष्य यसपटक च्याम्पियन्स लिगमा छ । उनको प्रशिक्षणमा दुईपटक च्याम्पियन्स लिगको फाइनल खेलेर पनि एथलेटिको पराजित भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि