बैशाख २३, २०८१, आइतबार
               

युरोकप फाइनल आज : फाइनलिस्ट इटली र इङल्यान्डबारे जान्नैपर्ने यी तथ्य
ठूला प्रतियोगितामा इटली कहिल्यै इङल्यान्डसँग हारेको छैन

एजेन्सी
असार २७, २०७८

ADVERTISEMENT

१६औँ संस्करणको युरोकपकाे फाइनलमा आज इङ्ल्यान्ड र इटलीबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल इंग्ल्यान्डको लण्डनस्थित बिम्बली स्टेडियममा नेपाली समयअनुसार मध्यराति १२: ४५ मा  हुनेछ ।

इंग्ल्यान्डले युरोपको नयाँ च्याम्पियन बनेर उपाधि घरमै राख्छ वा इटालीले युरोकपको उपाधि दोस्रोपटक जित्छ ? यसको फैसला हुनेछ ।  सन् १९६८ मा उपाधि जितेको इटाली त्यसयता दुईपटक फाइनलमा पुगेर पनि पराजित भएको थियो । सन् २००० को फाइनलमा फ्रान्स र २०१२ को फाइनलमा स्पेनले उसलाई हरायाे ।

दुबै अपराजित 

यसपटक समूह चरणदेखि नै सबै खेल जितेर इटली फाइनलमा आइपुगेको हो । तर, इङल्यान्ड पनि प्रतियोगितामा अपराजित छ । १९६६ को विश्वविजेता इङल्यान्डले त्यसयता पहिलोपटक कुनै पनि प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । इङल्यान्डले युरोको फाइनलमा स्थान बनाएको यो पहिलोपटक हो । 

कसको प्रदर्शन कस्तो ?

इंग्ल्यान्डले प्रतियोगितामा अहिलेसम्म खेलका ६ मध्ये एक खेलमा मात्रै बराबरी खेलेको छ । त्यस्तै, इंग्ल्यान्डले चार खेलमा निर्धारित समयभित्रै र डेनमार्कविरुद्धको सेमिफाइनल खेलमा थप ३० मिनेट प्रतिस्पर्धा गरेर जित हात पारेको छ । त्यसको तुलनामा इटालीले प्रतियोगिताको ६ मध्ये सबै खेलमा निरन्तर जित हात पारेको छ । त्यसो त इटाली आफ्नो पछिल्लो १४ खेलमा लगातार विजयी छ । पछिल्लो ३३ खेलमा अपराजित छ । यी दुई टोलीको पछिल्लो लयले पनि फाइनल खेल थप प्रतिस्पर्धात्मक हुने देखिएको छ । इटलीले समूह चरणमा टर्की र स्विचरल्यान्डलाई समान ३–० तथा वेल्सलाई १–० ले हराएको थियो । अन्तिम १६ मा अस्ट्रियालाई अतिरिक्त समयमा २–१, क्वाटरफाइनलमा बेल्जियमलाई २–१ र सेमिफाइनलमा स्पेनलाई टाइब्रेकरमा ४–२ ले हराएर इटली फाइनलमा आइपुगेको हो ।

यता, इङल्यान्डले सुरुवाती खेलमा क्रोयशियाविरुद्ध प्रतिस्पर्धात्मक १–० को जित निकाल्यो । दोस्रो खेलमा स्कटल्यान्डसँग गोलरहित बराबरी खेलेको इङल्यान्डले समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रलाई १–० ले हराएको  थियो । अन्तिम १६ मा जर्मनीलाई इङल्यान्डले २–० ले हरायो । त्यस्तै, क्वाटरफाइनलमा युक्रेनविरुद्ध ४–० को जित निकाल्यो । सेमिफाइनलमा डार्क हर्स मानिएको डेनमार्कलाई २–१ ले हराउँदै इङल्यान्ड फाइनल आइपुगेको हो । 

हेर्नलायक खेलाडी 

फेडरिका चिसा, इटली : युभेन्टसबाट व्यावसायिक फुटबल खेल्ने चिसाले जारी युराेकपमा निकै उत्कृष्ट खेलिरहेका छन् ।   उनले विशेष गरी अस्ट्रिया र स्पेनविरुद्धको खेलमा टोलीलाई महत्वपूर्ण जित दिलाउन निर्णायक गोल गरेका छन् । विपक्षी टोलीका रक्षापंक्तिलाई नियमित तोड्न सक्ने क्षमताका चिसाले प्रतियोगितामा गोलको अवसर समेत सिर्जना गरेका छन् । उनले इटालीलाई युरोकपको दोस्रो उपाधि दिलाउन प्रतियोगितामा थप आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछन् । टोलीमा सिरो इम्मोबिल र लोरेन्जो इन्सिग्‍नेजस्ता चलेका फरवार्ड पनि छन् । तर, इ‌ंलिस गोलकिपर जोर्डन पिकफोर्डले जारी प्रतियोगितामा गाेलमात्रै खाएका छन्, उनलाई बिट गर्न सहज छैन । इंलिस डिफेन्डरहरु जोन्स स्टोन्स, ह्यारी म्यागुर, केल वाल्कर  र लुक शालाई उछिन्‍न पनि सहज छैन । 

ह्यारी केन : इटलीका दुई अनुभवी डिफेन्डर जर्जियो चिल्लिनी र लियोनार्दो बुनुचीलाई ताेड्दै गोल गर्नेुपर्ने मुख्य जिम्मेवारी ह्यारी केनकै काँधमा छ । इङल्यान्डका यी स्ट्राइकर सुरुवाती खेलमा राम्रो खेल्न नसकेकाे भन्दै आलोचित थिए । तर नकआउट चरणका तीन खेलमा उनले चार गाेल गरिसकेका छन् । केनसँगै रहिम स्ट्रलिङ पनि फर्ममा छन् । उनीबाट पनि इङल्यान्डले ठूलो अपेक्षा गरेको छ । तर, इटलीका गोलकिपर गियानलुइगी डोनारुम्मा निकै लयमा छन् । अस्ट्रियाविरुद्धको खेलमा गाेल खानुअघि उनले ११ सय ६८ मिनेट गोल नखाने किर्तिमान राखेका थिए । राईक ब्याक जियोभानी डि लोरेन्जो र लेफ्ट ब्याक इमर्सन पाल्मिइरीले  पनि इंलिस स्ट्राइकरहरुलाई राम्ररी चल्न दिने छैनन् । 

हेड टु हेड

इङल्यान्ड र इटलीबीच अहिलेसम्म भएका २७ खेलमध्ये इटलीले ११ खेल जितेको छ । इङल्यान्डले ८ पटक जितेको छ भने ८ खेल बराबरीमै टुंगिएको छ । स्मरणीय कुरा, ठूला प्रतियोगितामा इटली कहिल्यै इङल्यान्डसँग हारेको छैन । युराे १९८०, विश्वकप १९९०, युरो २०२१ र विश्वकप २०१४ मा इटलीले इङल्यान्डलाई हराएको थियो । अर्को स्मरणीय कुरा, पछिल्लो समय बिम्बलीमा खेलेका १७ खेलमध्ये इङल्यान्डले १५ खेल जितेको छ । एक खेलमा बराबरी खेलेकाे छ भने एक खेलमात्र हारेको छ । 

के भन्छन् प्रशिक्षक ?

रोबर्टाे मान्सिनी, इटली : अहिलेसम्मको यात्रामा निकै खुसी छु । त्यसका लागि खेलाडीहरूको मेहिनेतका लागि धन्यवाद । तर, हामीले अहिल्यै केही जितिसकेका छैनौँ । यसलाई हाम्रो सफलता मान्नका लागि  फाइनल खेल जित्नुपर्नेछ । इंग्ल्यान्डको समर्थनमा पूरा स्टेडियम हुनेछ । त्यसका लागि हामीले उनीहरूलाई दबाबमा राख्नुपर्नेछ । फाइनल खेल अन्य खेलभन्दा फरक हुने नै छ । त्यसैले हामीले आफ्नो खेलमा केन्द्रित हुन आवश्यक छ । 

ग्यारेथ साउथगेट, इङ्ल्यान्ड : हामी महत्वपूर्ण प्रतियोगिताको फाइनलमा पुगेका छौै‌ । तर, उपाधि जित्‍न सहज छैन, इटाली साँच्चिकै राम्रो टोली हो । मैले केही वर्षदेखि उनीहरूको खेल हेरेको छु, उनीहरू निकै राम्रो लयमा छन् । उनीहरूसँग साँच्चिकै राम्रो रक्षापंक्ति छ । यो साँच्चिकै राम्रो प्रतिस्पर्धा हुनेछ । खेललाई लिएर म निकै उत्साहित छु ।

यो पनि