हरेक ठूला प्रतियोगिताहरूबाट केही खेलाडीले विशेष छाप छोड्न सफल हुन्छन् । सन् १९९० को विश्वकपमा पनि यस्तै एउटा विशेष खेलाडीको नाम चर्चामा आएको थियो । इटालीका सल्वाटो सिल्याचीको भाग्य ३ हप्तामा फेरिएको थियो ।
तर त्यसपछि निरन्तर रूपमा उनले आफ्नो खेल जीवनलाई खासै स्थापित गर्न सकेनन् । सिल्याची इटालीका दोस्रो रोजाइका स्ट्राइकर थिए तर अन्य खेलाडी घाइते भएको फाइदा उठाउँदै उनी १९९० विश्व कपका गोल्डेन बुट विजेतासमेत भएका थिए ।
यस्तै अर्का खेलाडी हुन् हमेस रोड्रिगेज उनी पनि विश्वकप २०१४ का उदाउँदो ताराको रूपमा चर्चामा आए । उनी २०१४ को विश्वकपमा नाम कमाएर चर्चा कमाउन सफल खेलाडीमध्येका एक हुन् ।
युरोकपमा पनि केही यस्ता खेलाडीहरू छन्, जसले क्लबमा भन्दा पनि देशको तर्फबाट नाम कमाउन सफल भए । हेरौँ युरो २०२० मा हिरो भएका ५ खेलाडी :
लेओनार्दो स्पिन्नाजोला (इटाली– लेफ्ट ब्याक, क्लब- रोमा)
स्पिन्नाजोलाले युरोकपको पहिलो खेलदेखि नै लोभलाग्दो कौशल देखाइरहेका थिए । उनी हरेक खेलमा आफ्नो प्रभाव जमाइरहेका थिए । इटालीका प्रमुख हिस्साको रूपमा आएका स्पिन्नाजोलाको प्रतियोगिताको सुरुवातमा राम्रो भए पनि अन्त्य सुखद रहेन ।
२८ वर्षीय स्पिन्नाजोलाको बेल्जियमसँगको खेलमा अचिलिस (पिडौला)मा समस्या देखापरेको थियो । उनी अब ६ महिनासम्म मैदानमा देखापर्ने छैनन् । स्पिन्नाजोला रोमाबाट आफ्नो व्यावसायिक फुटबल खेल्ने गर्छन् । नयाँ प्रशिक्षक जोसे मौरिन्होको आगमनसँगै स्पिन्नाजोलाको डिफेन्स अझै सुधारिने संकेत देखिएको छ ।
स्पिन्नाजोलाको यस वर्षको युरो कप केही विशेष पनि रह्यो । जम्माजम्मी ३८० मिनेटको खेल खेलेका स्पिन्नाजोलाले एउटा पनि पहेँलो कार्ड तथा रातो कार्ड बेहोरेनन् । त्यस्तै उनको पासिङ ८८ प्रतिशतले जमेको थियो । केवल ३८० मिनेटमा ४४ किमी दुरी पुरा गरेका थिए । स्पिन्नाजोलाको खेल्ने शैली निकै आक्रामक भएको कारणले पनि उनको खेलमा विशेष प्रभाव रहेको थियो ।
डेन्जल डम्फ्रिज (आयरल्यान्ड- राइट विङ ब्याक, क्लब- पीएसभी)
डम्फ्रिजको युरो २०२० को यात्रा निकै अविस्मरणीय हुन पुग्यो । भलै डचको यात्रा छोटो थियो तर डम्फ्रिजको युरो यात्रा निकै सुनौलो थियो । डम्फ्रिज डच टोलीको लागि पहिलो खेलदेखि नै निकै आकर्षक कला देखाइरहेका थिए ।
डच प्रशिक्षक फ्रान्क डी बोरले डम्फ्रिजको भविष्य निकै उज्ज्वल बनाइदिएका छन् । डम्फिजले युरोमा २ खेलमा म्यान अफ द म्याच पनि हासिल गरे । उनले डच टोलीको लागि ग्रुप स्टेजको खेलमा २ गोलसमेत गरेका थिए । डम्फिज अहिले ठूला क्लबको आँखामा पर्न सफल भइसकेका छन् ।
राइट विङ तथा राइट ब्याक दुइटै खेल्न सक्ने क्षमता भएका डम्फ्रिज अहिले युरोले गर्दा एकाएक नायक हुन पुगेका छन् । अबको उनको यात्रा कतातिर हो भन्ने चासो सबै माझ देखिँदै छ ।
प्याट्रिक सिख (चेक गणतन्त्र- सेन्टर फरवार्ड, क्लब- बाएर लेभरकुसन)
प्याट्रिक सिखको लागि युरोकपको यात्रा जिरोबाट हिरो बन्ने मौका जस्तो भएको थियो । युरो २०२० को स्कटल्यान्डविरुद्धको उनको गोल प्रतियोगिताकै उत्कृष्टमध्ये एक हो ।
करिब ४४ यार्ड टाढाबाट हानेको बल सोझै पोस्टभित्र छिरेको थियो । लेफ्ट खुट्टा चलाउन माहिर सिख चेकको लागि महत्त्वपूर्ण खेलाडी बनेका छन् । चेकले जारी युरोमा गरेको ६ गोलमध्ये ५ गोल सिखले गरेका छन् । सिख चेकको लागि एउटा अमूल्य खेलाडीको रूपमा स्थापित भए ।
चेकको यात्रा पनि भुल्न नसक्ने भयो । नेदरल्यान्डसँगको खेलमा डटेर खेलेका उनले फल प्राप्त गरे । आफ्नो यात्रा क्वाटरफाइनलसम्म लम्ब्याउन उनको विशेष भूमिका रह्यो । सिखको यात्रा बाएर लेभरकुसनमै हुन्छ त भन्ने अबको प्रश्न उब्जिरहेको छ ।
मनुअल लोकाटेली (इटाली- डिफेन्सिभ मिडफिल्डर, कल्ब - सस्सुलो)
युरो नभइदिएको भए लोकाटेली हाम्रो नजरमा नै हुने थिएनन् । लोकाटेलीको स्विजरल्यान्डसँग गरेको २ गोलले उनी इटाली समर्थकबीच एकाएक आफू पनि अरूभन्दा कम नरहेको साबित गर्न सफल भए ।
मारको भाराटी फिट नहुँदासम्म लोकाटेलीले इटालीको मिड सम्हालेका थिए । त्यस क्रममा उनले एउटा पनि त्रुटि हुन दिएनन् । लोकाटेलीको खेल्ने शैली इटालीको खेलसँग एकदम मिलेको पनि थियो । पिरलोलाई आफ्नो आदर्श खेलाडी मान्ने लोकाटेली, भाराटी समयमा टिम नफर्किएका भए उनले नै मौका पाउने पक्कापक्की नै थियो ।
लोकाटेलीले युरोमा २४८ मिनेट खेल्दा २ गोल तथा १४ ट्याकल गरेका छन् । उनको पासिङ ८८ प्रतिशतले जमेको थियो । लोकाटेलीलाई थुप्रै ठूला कल्बबाट अनुबन्ध गर्ने संकेत देखिएको छ । उनी अब इटालीको लागि महत्त्वपूर्ण हिस्सा हुने छन् ।
जॉकिम मेहेले (डेनमार्क- लेफ्ट विङ ब्याक, क्लब- अटल्नटा)
मेहेले राइट ब्याक तथा लेफ्ट ब्याक दुवै खेल्न माहिर छन् । डेनमार्कको ६ खेलमै सुरुवाती ११ बनाउन सफल मेहेले अब अटल्नटामा नै आफ्नो भविष्य देख्छन् त भन्ने ठूलो प्रश्न रहेको छ ।
मेहेलेले युरो २०२० मा डेनमार्कको तर्फबाट ५६६ मिनेट खेल्दै ६७ किमी दुरी कायम गरेका थिए ।
मेहेलेले २ गोल तथा ७ सट टार्गेटमा प्रहार गरेका थिए । डेनिस डिफेन्सको मुख्य हतियार भएका मेहेले यस युरोमा निकै चम्किएका हुन् । उनको अबको भविष्य कता भन्ने पनि रहेको छ । निकै अट्याक गर्न सिपालु खेलाडी मेहेले विङबाट पनि घातक बल निकाल्न माहिर छन् ।
क्लब फुटबलमा रुचि राख्ने मानिसका लागि कुन देशका कुन खेलाडी कस्ता छन् भन्ने जानकारी र ज्ञान रहने हुन्छ । फुटबलका गतिविधिलाई यिनीहरूले नजिकबाट नियाली रहेका हुन्छन् । तर केही फुटबलका पारखीहरूले विश्वकप, युरोकप, कोपा अमेरिका जस्ता खेलहरूमा मात्र ध्यान दिने गरेको पाइन्छ ।
उनीहरूको मनमस्तिष्कमा त्यस प्रतियोगिताको छाप सँधैभर रहने गर्छ । यसैले त उनीहरू ४ वर्षपछि आउने अर्को प्रतियोगितामा पनि तीनै अनुहारहरूलाई खोज्ने गर्छन् । तर तीमध्ये कति खेलाडीहरू समयको अन्तरालमा हराइसकेका हुन्छन् । कतिले भने निरन्तरता पाइरहेका हुन्छन् । १९९० मा गोल्डेन बुट जित्ने सिल्याचीको त्यही विश्वकप नै पहिलो तथा अन्तिम रह्यो ।
ढल्किँदो उमेरमा प्रिमियर लिग छिरेका जिमी भार्डीको लागि सायद २०१८ को विश्वकप नै अन्तिम ठूलो प्रतियोगिता बन्ला जस्तो देखिन्छ ।
तर यसको अर्थ यो हैन कि खेलाडीहरूले खेलमा पुनरागमन गर्दै गर्दैनन् । १९९० को विश्वकपमा ३८ वर्षको उमेरमा ४ गोल गरेर क्यामरुनलाई विश्वकपको क्वाटरफाइनलसम्म पुर्याउन योगदान दिएका रोजर मिल्लाले १९९४ मा ४२ वर्षको उमेरमा फेरि पनि खेले । र, गोल पनि गरे । दुवै विश्वकपमा सबैभन्दा बढी उमेरमा गोल गरी आफैँले आफ्नो रेकर्ड भत्काए ।
ठूला प्रतियोगिताहरूमा रेकर्ड कायम गर्ने केही खेलाडीहरूको खेल जीवन भने लगातार सफल र निरन्तर रूपमा उम्दो हुने गर्छ । २००६को विश्वकप खेलेका रोनाल्डो र मेस्सीको यात्रा निरन्तर चलिरहेकै छ ।