
नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायतमा हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न आज राति बेलायत जाँदै छन् । भिषाको समस्याका कारण टी-२० ब्लास्ट खेल्न नपाएका सन्दीप बिहीबार राति द हन्ड्रेडका लागि बेलायत जान लागेको हुन् ।
बेलायत पुगेपछि उनी १० दिन क्वारेन्टिन बस्नुपर्ने छ । क्वारेन्टिन अवधिमा लगातार दुई पटक पिसिआर रिपोर्ट नेगेटिभ आएपश्चात मात्र उनी आफ्नो टिम ओभलको टोलीमा सामेल हुनेछन् । नेपालबाट जाँदा पनि पिसिआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ । बेलायतमा क्वारेन्टिनमा रहँदा समेत उनबो दुई पटक पिसिआर परीक्षण गरिनेछ ।
द हन्ड्रेड जुलाई २२ देखि सुरु हुँदैछ । जसमा पहिलो खेलमा नै सन्दीपको टिम ओभलले म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ । इंग्ल्याण्ड र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको यो प्रतियोगिता अघिल्लो वर्ष कोभिड १९ का कारण स्थगित भएको थियो । यो बर्ष उनलाई टिमले रिटेन गरेको थियो ।
सन्दीपलाई ओभलले करिव एक लाख पाउण्डमा अनुबन्ध गरेको हो ।
यसअघि नेपालले स्पेनमा त्रिकोणात्मक सिरिज खेल्ने तय हुँदा सन्दीपले यो प्रतियोगिताका सुरुवाती चार देखि पाँच खेल गुमाउने सम्भावना थियो । तर अब भने उनले पूरै प्रतियोगिता खेल्न पाउनेछन् ।
नेपालको अर्को अन्तराष्ट्रिय तालिका सेप्टेम्बरमा भएकाले पनि सन्दिपलाई यो प्रतियोगिताका लागि समय मिलेको हो ।