बैशाख २३, २०८१, आइतबार
               

इङ्ल्याण्ड पहिलो पटक फाइनलमा, इटलीसँग उपाधि भिडन्त

एजेन्सी
असार २४, २०७८

ADVERTISEMENT

डेनमार्कलाई पराजित गर्दै इङ्ल्याण्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड उपाधि नजिक पुगेको हो ।

इङ्ल्याण्डको जितमा कप्तान ह्यारी केनले एक गोल गरे । इङ्ल्याण्डले एक गोल आत्मघाती उपहार पाएको थियो । डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता डेनमार्कले बनाएको थियो । ३० औं मिनेटमा युवा खेलाडी डाम्सगार्डले फ्रिकिकबाट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए ।

३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोनले  आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो । इङ्ल्याण्डका बुकायो साकाको क्रसमा उनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

दोस्रो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको १०४ औं मिनेटमा कप्तान केनले गोल गर्दै इङ्ल्याण्डलाई २-१ को जित दिलाए । उनले आफैले हानेको पेनाल्टीको रिबाउन्डमा गोल गरेका हुन् ।

रहिम स्ट्रर्लिङलाई जोकिम माहेलले पेनाल्टी बक्स भित्र फउल गर्दै लडाएपछि इंग्ल्यान्डले भिएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो  । जसमा केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर कास्परले रोकेका थिए । तर, रिबाउन्डमा आएको बलमा केनले सहजै गोल गरे ।

यससँगै इङ्ल्याण्ड पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

अब इङ्ल्याण्डले फाइनलमा इटलीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ  ।

इटली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि