जेठ ०५, २०८१, शनिबार
               

इङ्ल्याण्ड भर्सेस डेनमार्क : को पुग्ला फाइनलमा ?

एजेन्सी
असार २३, २०७८

ADVERTISEMENT

१६ औं संस्करणको युरोकप २०२० को सेमिफाइनलमा आज (बुधबार) राति डेनमार्क र इङ्ल्याण्ड भिड्दैछन् ।

लण्डनस्थित वेम्बली स्टेडियममा इङ्ल्याण्ड र डेनमार्कबीचको खेल राति पौने एक बजे सुरु हुनेछ ।

आज इङ्ल्याण्ड र डेनमार्क फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । 

डेनमार्क र इङ्ल्याण्ड भिड्दै गर्दा दुबै टिमका केही महत्त्वपूर्ण खेलाडी दर्शकको नजरमा पर्नेछन् ।

स्टार खेलाडीले भरिएको इङ्ल्याण्ड र उत्कृष्ट टिम गेम खेलिरहेको डेमार्कबीचका केही खेलाडीले खेललाई थप रोमाञ्चक बनाउने सक्नेछन् ।

इङ्ल्याण्डको टिमबाट खेलिरहेका रहिम स्टार्लिङ, ह्यारी केन, ह्यारी मग्वायर र जोर्डन हेन्डरसनले गोलसमेत गरेका छन् । केन र स्टार्लिङले समान ३–३ गोल गरेका छन् । त्यसैले डिफेन्डर मग्वायरसहित केन र स्टार्लिङ खेलको केन्द्रमा रहनेछन् ।

सुरुआती तीन खेलमा गोल गर्न नसकेका कप्तान केनले पछिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । 

त्यस्तै, डेनमार्कका मार्टिन ब्रेथवेट र कास्पर डोलबर्ग खेलको केन्द्रमा रहनेछन् । डोलबर्गले अहिलेसम्म तीन गोल गरिसकेका छन् भने ब्रेथवेटले एक गोल गरेका छन् । यता डेनमार्कका डिफेन्डर सिमोन किया पनि आजको खेलको केन्द्रमा रहनेछन् ।

डेनमार्कले अहिलेसम्म युरोमा ११ गोल गरेको छ भने इंग्ल्यान्डले आठ गोल गरेको छ ।

आज हुने खेलको विजेताले फाइनलमा इटलीसँग भिड्नेछ । इटली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।

इङ्ल्याण्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४-० गोलको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । यस्तै राउण्ड अफ १६ मा इङ्ल्याण्डले उपाधि दाबेदार जर्मनीलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।  

इङ्ल्याण्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो । इङ्ल्याण्ड यस पटक इतिहास रच्ने योजनामा छ ।

इङ्ल्याण्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेट भन्छन्:

'हामीले राम्रो अवसर पाएका छौँ । यो इतिहास बनाउने मौका हो । किनकी हामी युरोपियन च्याम्पियनसिपको फाइनल पुगेका छैनौँ, टोलीलाई धेरै दबाब छैन । यो टोलीका लागि अवसर हुनेछ ।'

डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो । त्यसअघि डेनमार्कले भने प्रि-क्वाटरफाइनलमा वेल्सलाई ४-० गोल अन्तरले हराएको थियो ।

डेनिस प्रशिक्षक कास्पर भन्छन्:

'यो हाम्रो लागि अवे खेल जस्तै हुनेछ । तर, हामी यस खेलका लागि राम्रो मेहनत गरिरहेका छौं । हाम्रो मोटिभेसन दर्शकलाई चुप बनाउनु हुनेछ । तर, हामीलाई थाहा छ यो कठिन हुनेछ ।'

डेनमार्क आज घरेलु टोली (इङ्ल्याण्ड) लाई स्तब्ध बनाएर अघि बढ्न लक्ष्यमा रहनेछ । 

यसअघि इङ्ल्याण्ड र डेनमार्कबीच २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इङ्ल्याण्डले १२ खेल जितेको छ भने डेनमार्कले ४ खेल जितेको छ । पाँच खेलमा बराबरी भएको छ ।


कस्तो लाग्यो ?

यो पनि