बैशाख २४, २०८१, सोमबार
               

युरोकपको क्वाटरफाइनल आजदेखि, स्विट्जरल्यान्ड र स्पेन तथा बेल्जियम र इटाली आमनेसामने हुँदै

नेपाल फ्ल्यास
असार १८, २०७८

ADVERTISEMENT

युरोपको विभिन्न ११ सहरमा जारी १६औँ संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल खेल आज (शुक्रबार) बाट हुँदै छ । युरोकप अन्तर्गत शुक्रबार क्वाटरफाइनलको दुई खेल हुनेछन् । पहिलो क्वाटर फाइनलमा स्विट्जरल्यान्ड र स्पेन भिड्नेछन् । दोस्रोमा बेल्जियम र इटाली आमनेसामने हुने छन् । 

स्विट्जरल्यान्ड र स्पेनबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । पहिलो क्वाटर फाइनलमा मैदान उत्रदा दुवै टिमको नजर सेमिफाइनलमा पुग्नु हुनेछ । त्यसका लागि स्विट्जरल्यान्ड र स्पेन जित निकाल्न चाहन्छन् ।

स्वीजरल्याण्ड साबिक उपविजेता फ्रान्सलाई हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो । प्रि–क्वाटर फाइनलमा स्विट्जरल्यान्डले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको थियो । तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई हराएर अन्तिम आठको यात्रा तय गरेको हो । प्रि–क्वाटर फाइनलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित थियो ।

स्विट्जरल्यान्ड र स्पेनबीच युरोपियन च्याम्पियनसिपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । विश्वकपमा भने दुई टिम तीन पटक खेलेका छन् । जसमा स्पेनले दुई जित निकाल्दा एक जित स्विट्जरल्यान्डको पक्षमा गएको छ ।

दुई टिमबीच अहिलेसम्म २२ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १६ खेल जितेको छ । पाँच खेल बराबरीमा सकिँदा एक खेल स्विट्जरल्यान्डले जितेको छ ।

बेल्जियम र इटाली दुवै सेमिफाइनलमा पुग्ने योजनामा 

बेल्जियम र इटालीबीचको दोस्रो क्वाटरफाइनल खेल जर्मनीको एलिनाज स्टेडियममा हुनेछ । खेल राति १२ः४५ बजे सुरु हुनेछ । उपाधि दाबेदार बेल्जियम र इटाली दुवै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन् । त्यसैले दुई टिमबिचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

फिफा वरीयताको शीर्ष स्थानको बेल्जियमले साबिक विजेता पोर्चुगललाई हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको हो । प्रि–क्वाटर फाइनलमा बेल्जियमले पोर्चुगललाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

इटालीले क्वाटर फाइनलमा प्रवेश गर्ने क्रममा अस्ट्रियालाई हराएको थियो । प्रि–क्वाटर फाइनलमा इटालीले अस्ट्रियालाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको हो । दुई टिमबीच हालसम्म २२ खेल भएको छ । जसमा इटालीले १४ खेल जितेको छ । चार खेल बेल्जियमले जित्दा ४ खेल बराबरीमा सकिएको छ ।

मुख्य प्रतियोगितामा दुई टिमबीच पाँचौँ पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघिको चार भेटमा इटालीले ३ जित निकाल्दा एक खेल बराबरीमा सकिएको छ । सन् १९६८ को विजेता इटली सन् २००० र २०१२ मा उपविजेता बनेको थियो । पाँच वर्षअघि फ्रान्समा भएको युरोमा भने इटली क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

उता विश्व नम्बर वान बेल्जियमले साबिक विजेता पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । बेल्जियमको अहिलेको टोलीलाई गोल्डेन जेनेरेसनको रुपमा हेरिएको छ । तर केही जित्न सकेको छैन । उपाधि दाबेदारमध्ये एक रहेको बेल्जियम १९८० मा युरोकपमा उपविजेता बनेको थियो । त्यसपछि युरोको तीन संस्करण मात्र खेलेको बेल्जियम पछिल्लो पटक क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि