जेठ ०७, २०८१, सोमबार
               

संयुक्त फुटबल छनोट : आज नेपाल अष्ट्रेलियासँग भिड्दै

नेपाल फ्ल्यास
जेठ २८, २०७८

ADVERTISEMENT

काठमाडौं । आज नेपाल विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त फुटबल छनोटको दोस्रो चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग भिड्ने भएको छ । कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजे सुरु हुनेछ ।

कोरोना महामारीपछि बाँकी ३ खेल खेल्न कुवेत पुगेको नेपालले यसअघि चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको थियो भने जवर्डनसँग ३–० ले पराजित भएको थियो । समूह बी मा रहेको नेपाल यसअघि नै विश्वकप छनोटबाट बाहिरिसकेको छ भने एसिया कपको अर्को चरणका पुग्नका लागि पनि अब प्लेअफको सहायता लिनुपर्ने अवस्था बनेको छ ।

यदी नेपालले अष्ट्रेलियालाई हराएमा र अन्य समूहका टिमहरुको नतिजा पनि नेपाल अनुकुल आएमा मात्र नेपाल समूहमा चौथो हुनेमध्ये उत्कृष्ट चारमा पर्दै एसिया कप छनोटको तेस्रो चरण पुग्नेछ ।

यो समीकरण लगभग असम्भव जस्तै रहेकोले नेपालले एसिया कपको तेस्रो चरणमा खेल्नका लागि अब प्लेअफ नै खेल्न पर्नेछ । समूह चरणमा ७ खेल खेलिसकेको नेपालले दुई जित र ५ खेलमा हारको नतिजासहित ६ अंक जोडेको छ ।

नेपालले यसअघि विश्वकप छनोटमै २०१९ मा अष्ट्रेलियासँग खेलेको थियो । क्यानबेरामा भएको उक्त खेलमा नेपाल ५–० ले पराजित भएको थियो । नेपालका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नतिजाभन्दा पनि प्रदर्शनमा जोड दिने बताएका छन् । उनले नेपालको खेल्ने शैली परिवर्तन भएको र त्यसको नतिजा पनि देखिन थालेको बताए ।

अष्ट्रेलियाका प्रशिक्षक ग्रेहम आर्नोल्डले समेत नेपाली टिमको खेल्ने शैली परिवर्तन भएको र मिहेनती टिम भएको प्रतिक्रिया दिएका थिए । प्रशिक्षक अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपालका युवा खेलाडीहरुले डेब्यु गर्न सक्ने सम्भावना रहेको समेत बनाए ।

अहिले नेपाली टिममा रहेका ६ नयाँ खेलाडी मध्ये दुई खेलाडीले इराकविरुद्ध मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए । मिडफिल्डर मनिस डाँगी र डिफेण्डर गौतम श्रेष्ठले इराकविरुद्ध पहिलो रोजाइमै खेलेका थिए ।

मनिसले त्यसपछि छनोटका दुवै खेल खेले भने गौतमले चाइनिज ताइपेईविरुद्ध मात्र खेलेका थिए । यस बाहेक नयाँ खेलाडीहरुमा मिडफिल्डरहरु आयुष घलान, सुरज ज्यु ठकुरी र कमल थापाले डेब्यु गर्न बाँकी छ ।

यस्तै गोलकिपर विशाल सुनार पनि पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् । अलमुताइरीले आयुष, सुरज र कमलले अष्ट्रेलियाविरुद्ध पहिलो रोजाइँमा नखेल्ने तर पनि खेल्ने सम्भावना रहेको बताएका थिए । 

अष्ट्रेलिया समूहमा लगातार ६ खेल जित्दै शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा छ । नेपालविरुद्ध जितेल अष्ट्रेलियाले विश्वकपको छनोटको तेस्रो चरणमा स्थान बनाउनेछ भने एसिया कपमा सिधै छनोट हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि