ओसुमसियोम । अर्जेन्टिनाले देशभरि कोरोना भाइरस संक्रमणको समस्या कम हुन नसकेको भन्दै खेल आयोजना गर्न नसक्ने बताएपछि कोपा अमेरिकाका लागि नयाँ आयोजकको खोजी भइरहेको दक्षिण अमेरिकी फुटबल महासंघले जानकारी गराएको छ ।
कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजना गर्ने उक्त ‘फुटबल प्रतियोगिता’ यही जुन १३ देखि सुरू गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । महामारीको कारण उक्त प्रतियोगितालाई अघिल्लो वर्ष स्थगित गरी यो वर्ष आयोजना गर्ने तयारी भइरहेका समय आयोजकले नै स्वास्थ्य संकटका कारण खेल सञ्चालन गर्न कठिनाई भएको जानकारी गराएको बुभिएको छ ।
‘वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै अर्जेन्टिनामा गरिने कोपा अमेरिकाको सञ्चालनलाई अन्यत्र लग्ने प्रयास भइरहेको छ,’ दक्षिण अमेरिकी फुटबल महासंघले आफ्नो आधिकारिक ट्वीटर पेजमार्फत् सार्वजनिक विज्ञप्तिमा उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आयोजक अर्जेन्टना पछिहटेपछि महाद्वीपीय प्रतियोगिताको आयोजना गर्न चासो देखाएको अन्य देशहरूबाट प्राप्त भएका प्रस्तावहरूको हामी विश्लेषण गरिरहेका छौं ।
यस सम्बन्धमा समाचार छिट्टै घोषणा गरिनेछ ।’ अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म त्यहाँ संक्रमितको सङ्ख्या ३७ लाख पुगेको बताएको छ भने ७७ हजार संक्रमित व्यक्तिको मृत्यु भएको जनाएको छ ।