जेठ ०५, २०८१, शनिबार
               

नेपाललाई १३७ रनको लक्ष्य

नेपाल फ्ल्यास
बैशाख ०४, २०७८

ADVERTISEMENT

किर्तिपुर मैदानमा आजदेखि सुरु भएकाे त्रिकाेणात्मक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजकाे उद्घाटन खेलमा नेदरल्यान्ड्सले नेपाललाई १३६ रनको लक्ष्य दिएकाे । नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १३६ रन बनायो । 

खराब सुरुवात गरेको नेदरल्यान्ड्ले तेस्रो ओभरमा नै टोलीको मात्र १२ रन हुँदा २ विकेट गुमाएको थियो । टिमको दोस्रो तथा आफ्नो स्पेलको पहिलो ओभर लिएर आएका सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाएका थिए । उनले दोस्रो ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सका म्याक्स ओ डोवडलाई एलबीडब्लु आउट गरेका हुन् । म्याक्सले ११ बलमा दुई चौका सहित १० रनको योगदान दिए ।

त्यस्तै नेदरल्यान्ड्सले दोस्रो विकेटको रुपमा बेन कोपरलाई शुन्य रनमा गुमायो । आफ्नो स्पेलको दोस्रो ओभर लिएर आएका सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा कोपरलाई एलबीडब्लु धरापमा पारेका थिए ।

त्यसपछि मैदान आएका बास डे लीडेले स्कट इड्वार्डसँगै मिलेर नेदरल्यान्ड्सको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । उनले इड्वार्डसँग ६१ रनको साझेदारी गरे ।

तर, १४ औं ओभरको पाँचौ बलमा लामो सट खेल्ने चक्करमा इड्वार्ड नेदरल्यान्ड्सको तेस्रो विकेटको रुपमा पेभिलियन फर्किए । ३० रनमा खेलिरहेका इड्वार्ड शाहब आलमको बलमा आरिफ सेखको हातबाट क्याच आउट हुँदै पेभिलियन फर्किएका हुन् । उनले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

यता इड्वार्डको विकेट लिएका शाहबको यो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु विकेट समेत हो । चौथो विकेटको रुपमा नेदरल्यान्ड्सले सर्वाधिक रन बनाएका बास डे लीडेलाई गुमायो । उनी १७ औं ओभरको अन्तिम बलमा ४१ रनमा पेभिलियन फर्किए । उनले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । सन्दीपको स्पेलको चौथो ओभरको अन्तिम बलमा कुशल भुर्तेलले क्याच गर्दै बासलाई मैदान बाहिर पठाएका थिए ।

कप्तान पिटर सिलर २३ र एन्टोनिअस स्टल २० रनमा अविजित रहे । पिटरले १७ बलमा २ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे । त्यस्तै स्टलले ९ बलमा २ चौका र १ छक्का सहित २० रनको योगदान दिए ।

नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए । उनले चार ओभरमा २२ रन खर्चेर २ विकेट लिएका हुन् । त्यस्तै सोमपाल कामी र शाहब आलमले एक एक विकेट लिए । 

नेपालका तर्फबाट तीन खेलाडीले नेपालको टी-ट्वान्टी टिमका लागि डेब्यू गरे । आसिफ शेख, कुशल भुर्तेल र शाहबले यसै श्रृंखलाबाट नेपालको टी-ट्वान्टी टिममा पहिलो पटक मौका पाएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि