जेठ ०५, २०८१, शनिबार
               

खुला महिला दौड प्रतियोगितामा नवलपुरकी खिमकुमारी पहिलो

नेपाल फ्ल्यास
चैत १७, २०७७

ADVERTISEMENT

चितवन । पश्चिम चितवनको पर्यटकीयस्थल बाटुली पोखरी र दक्षिणकाली मन्दिरको प्रचारप्रसारका लागि आयोजित खुला महिला दौड प्रतियोगितामा नवलपुरकी खिमकुमारी गुरुङ पहिलो भएकी छन् ।

झण्डै दुई किमी दूरीको दौड गुरुङले ६ मिनेट ५६ सेकेन्डमा पूरा गरी पहिलो भएकी हुन् । चितवनकी रजिना श्रेष्ठले ६ मिनेट ५७ सेकेन्ड दौड पूरा गरी दोस्रो तथा मकवानपुरकी सपना गुरुङले ६ मिनेट ५८ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भएकी छन् । सो दूरी सात मिनेटमा पूरा गरी लमजुङकी वाला गुरुङ चौथो भएकी छन् ।

पचासभन्दा बढी धावक सहभागी उक्त दौड प्रतियोगितामा पहिलो हुनेले नगद चार हजार ४४४ रुपैयाँ, दोस्रो हुनेले तीन हजार ३३३ रुपैयाँ, तेस्रो हुनेले दुई हजार २२२ रुपैयाँ तथा सान्त्वना हुनेले एक हजार १११ रुपैयाँका साथै प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको कार्यक्रम संयोजक रेशम तिमिल्सिनाले जानकारी दिए ।

कोरोनाको कारणले ठप्प बनेको पर्यटकीय गतिविधि आन्तरिक पर्यटकमार्फत चलायमान गराउने र स्थानीय पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले दौड प्रतियोगिता गरिएको उनले बताए । विगत १२ वर्षदेखि लियो क्लब अफ गीतानगरले खेलकूद क्षेत्रको विकाससँगै चार्डपर्वको बेलामा युवापुस्तालाई सकारात्मक कार्यतर्फ प्रेरित गर्ने उद्देश्यले लियो खुला दौड प्रतियोगिता गर्दै आएको छ ।

यसअघि ११औँ संस्करणसम्म पुरुष खुला दौड आयोजना गरेको क्लबले पहिलोपटक महिला दौड गरेको हो । सामुदायिक वनअन्तर्गत पर्ने बाटुली पोखरीमा हात्ती सयर, डुङ्गा सयरको व्यवस्था पनि छ । दक्षिणकाली मन्दिर धार्मिक पर्यटकीयस्थल हो ।

लियो क्लब अफ गीतानगर र योङ नेपालको आयोजना सम्पन्न दौड कार्यक्रममा लायन्स क्लब अफ गीतानगर, बाटुली पोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र दक्षिणकाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको सहआयोजना रहेको थियो ।

कार्यक्रममा महिला खेलाडीलाई प्रोत्साहनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कान्ति महतो र बाटुली पोखरी प्रचारका लागि महत्वपूर्ण योगदान गरेको भन्दै हरिदत्त मिश्रलाई सम्मान गरिएको थियो ।

तराई होलीका अवसरमा सोमबार आयोजित दौड प्रतियोगिता भरतपुर महानगरपालिका–६ को दक्षिणकाली मन्दिरबाट भरतपुर–१३ मा रहेको बाटुली पोखरीसम्म भएको थियो । 

यो पनि