जेठ ०५, २०८१, शनिबार
               

घरेलु मैदानमा नेपाल दोस्रो फुटबलमा शनिबार बंगलादेशसँग भिड्दै

नेपाल फ्ल्यास
चैत १३, २०७७

ADVERTISEMENT

काठमाडौं । घरेलु मैदानमा नेपाली राष्ट्रिय फुटबल टोलीले अबको आफ्नो दोस्रो खेल शनिबार (भोलि) बंगलादेशसँग भिड्ने भएको छ । उक्त खेलमा बराबरी खेलेमा वा विजयी भएमा नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ ।

पराजित भएमा गोल अन्तरका आधारमा नेपाल र किर्गिस्तानको फाइनल पुग्ने कुराको टुङ्गो लाग्ने छ । यसअघि उद्घाटन खेलमा बंगलादेशले किर्गिस्ताको यु–२३ टोलीलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । बंगलादेशले तीन अङ्क जोडेको छ भने बिहीबारको खेल गोलरहित बराबरी खेलेपछि नेपाल र किर्गिस्तानले एक एक अङ्क प्राप्त गरेका छन् ।

टोलीले किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार अबेर सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु–२३ टोली निर्धारित समयमा गोल गर्नबाट वञ्चित रहेका छन् ।

किर्गिस्तान विरुद्धको खेलमा नेपाल उत्कृष्ट लयमा हुँदाहुँदै पनि गोल गर्नबाट चुक्न पुग्यो । मध्यान्तरअघि र पछिको खेलमा नेपाली खेलाडी किर्गिस्तानका खेलाडीमाथि हाबी भएका थिए । नेपाली खेलाडीले पटक–पटक गोल गर्ने प्रयास भए पनि किर्गिस्तानी गोलकिपर प्रिएदकिन अर्तेमले सबै विफल पारी दिए । 

खेलको ६७औँ मिनेटमा किर्गिस्तानका कप्तान तासिएभ कामोलिदिनले दोहरो पहेँलो कार्डसँगै मैदानबाट बाहिरिए । त्यसपछि २९ मिनेटसम्म किर्गिस्तानी टोली १० खेलाडीमा सीमित रहन पुग्यो । नेपाली टोलीले त्यसको पनि फाइदा उठाउन सकेन ।

रंगशालामा उपस्थित करिब आठ हजार खेलाडीले किर्गिस्तानी टोली १० खेलाडीमा सीमित रहँदा नेपाली टोलीबाट गोलको आश गरेका थिए । किर्गिस्तानी गोलकिपर अर्तेमले नेपाली दर्शकको आशा निराशामा परिणत गरिदिए । 

नेपाली टोली खेलको सुरुवातदेखि नै गोल गर्ने राम्रो राम्रो मौका पाएको थियो । खेलको चौँथो मिनेटमा अञ्जन विष्टले डिबक्स भित्रबाट गरेको प्रयास बिफल भयो । यस्तै खेलको आठौँ मिनेटमा गरेको प्रयास पनि सफल हुन सकेन ।

यसैगरी मध्यान्तर अघि खेलको १० औँ, १४ औँ, २२ औँ, २९ औँ, ३४ औँ र ४३ औँ मिनेटमा पनि नेपाली टोलीबाट गोलको प्रयास भएका थिए । गोलमा परिणत हुन नसक्दा दर्शकहरू मध्यान्तरपछिको खेलमा गोलको आश गर्दै दर्शकदीर्घामा बसिरहे । 

मध्यान्तरपछिको खेलमा पनि नेपाली टोलीको प्रदर्शन त्यसअघिकै खेलको जस्तो रह्यो । खेलको ५०औँ मिनेटमा अनन्त तामाङले हेडमार्फत गोलको प्रयास गरेका थिए । उक्त प्रयासलाई किर्गिस्तानी गोलकिपर अर्तेमले असफल पारिदिए ।

यस्तै खेलको ५६औँ मिनेटमा अञ्जन विष्टले उत्कृष्ट प्रयास गरेका थिए । किर्गिस्तानका गोलकिपर अर्तेमले नेपाली दर्शकलाई निराश पारे । विष्ट खेलको ६३औँ मिनेटमा पनि गोल गर्नबाट चुके । खेलको ७१औँ मिनेटमा  नेपाल आत्मघाती गोलबाट जोगिएको थियो । गोलकिपर किरण चेम्जोङले आत्मघाती गोलबाट मुश्किलले जोगाए । 

नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । लामो समयको अन्तरालपछि प्रतियोगिता खेल्न पाएको भन्दै उनले खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको प्रतिक्रिया दिए ।

नेपाली टोलीको ध्यान अब बंगलादेशसितको खेलमा हुने भन्द्र महर्जनले जसरी पनि फाइनलमा पुग्ने लक्ष्यका साथ शनिबारको खेल खेल्ने बताए । किर्गिस्तानसितको खेलमा धेरै मौका पाए पनि नेपाली टोलीको फरवार्ड चुक्दा गोलरहित बराबरीमा चित्त बुझाउनुपरेको उनको भनाइ थियो । 

यो पनि