बैशाख २२, २०८१, शनिबार
               

राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई

नेपाल फ्ल्यास
चैत ०८, २०७७

ADVERTISEMENT

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडामा सम्पन्न स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । शनिबार मकवानपुर–११ सँग भएको फाइनल खेलमा १–० गोलअन्तरले आर्मी विजयी भएको हो । 

खेलको ३९औँ मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले गरेको गोल नै खेलमा निर्णायक बन्यो । विजयी आर्मी क्लबले १० लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यसैगरी उपविजेतामा चित्त बुझाएको मकवानपुर–११ ले पाँच लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

विजयी टिमलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतलगायतकाले संयुक्तरूपमा पुरस्कार वितरण गरे ।

फाइनल खेलमा आर्मीका टेकबहादुर बुढाथोकी म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । आयोजक मकवानपुर–११ का कप्तान अशोक बराल खेल अवधिभरमै सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यसैगरी मकवानपुर–११ का अमिर श्रेष्ठ उत्कृष्ट खेलाडी बन्न सफल भए । उनले बुलेट मोटरसाइकल प्राप्त गरे ।

त्यसैगरी लाइफटाइम एचिभमेन्ट अवार्डबाट पूर्वखेलाडी निर्मलबल लामालाई प्रदान गरिएको छ । आर्मीका विवश चौधरी खेलको उत्कृष्ट गोलरक्षक घोषित भए । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

आर्मीका दीपक गुरुङ उत्कृष्ट डिफेन्डर, आर्मीकै शेशेहङ आङदाम्बे उत्कृष्ट मिडफिल्डर, मकवानपुर–११ का रञ्जन विष्ट उत्कृष्ट फरवार्ड र आर्मीका प्रशिक्षक नवीन न्यौपाने उत्कृष्ट प्रशिक्षक घोषित भए ।

उत्कृष्ट हुने सबैले जनही नगद २५–२५ हजार रुपैयाँ प्राप्त गरेका छन् । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा छवटा ए डिभिजन, आयोजक र दुई मोफसलका क्लब गरी १० टिमको सहभागिता थियो ।  

यो पनि