मंसिर ०१, २०८१, शनिबार
               

गोपी र सन्तोषीलाई उपाधि

नेपाल फ्ल्यास
चैत ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । एपिएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह टेन–के रोड रेस प्रतियोगिताको उपाधि जितेका छन् ।

शनिबार प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले सो उपाधि जितेका हुन् ।

१३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता गोपीले निर्धारित दूरी ३१ मिनेट ४४.४९ सेकेन्डमा पूरा गरी अघिल्लो संस्करणको आफ्नै कीर्तिमान ब्रेक गरेका छन् । सो प्रतियोगितामार्फत् उनले यसअघिको ३२ मिनेट ०१.२ सेकेन्डको कीर्तिमान तोडेका हुन् ।

त्यसैगरी, १३औँ सागकी स्वर्णधारी सन्तोषीले निर्धारित दूरी ३७ मिनेट ५३ः४४ सेकेन्डमा पूरा गरिन् । सन्तोषीले पनि आफ्नो अघिल्लो संस्करणको कीर्तिमान ब्रेक गर्दै निर्धारित दूरी पार गरिन् । यसअघि उनले सो दूरी ३९ मिनेट १०.९८ सेकेन्डमा पार गरेकी थिइन् ।

विजेता गोपी र सन्तोषीलाई थप १० हजार बढी पुरस्कार प्रदान गरिएको छ।  दुवै खेलाडीले पहिलो संस्करणको उपाधि पनि जितेका थिए ।
पुरुषतर्फ अनिष थापामगर ३१ मिनेट ५०.४९ सेकेन्डकाका दोस्रो भए । तीर्थ पुनले ३१ मिनेट ५६.३८ सेकेन्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरे । यस्तै गजेन्द्र थापा चौथो र नरेन्द्र रावत पाँचौं भए । दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौँ हुने खेलाडीले पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।

यस्तै रामजी बस्नेत छैटौं, जितेन्द्र दनुवार सातौं, नरेश बुढा आठौं, सन्तोषविक्रम विष्ट नवौं र टंक कार्कीले १०औं स्थान हासिल गरे । उनीहरु सबैले चार हजार बराबरको गिफ्ट ह्याम्पर पाए ।
महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई ३९ मिनेट ३०.० सेकेन्डका दोस्रो भइन् । एपीएफकी फुलमती राना ४० मिनेट ५६.० सेकेन्डका साथ तेस्रो भइन् । यस्तै पूर्णलक्ष्मी न्यौपाने चौथो र बिर्सना कुमालले पाँचौँ स्थान हात पारे । दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौं हुनेले पाँच हजार नगद पुरस्कार प्राप्त गरे । यसैगरी आशा राउत छैटौं, सरस्वती बोहरा सातौं, बन्दना राई आठौँ, निर्मला राई नवौँ र कागज विष्टले १०औँ स्थान हात पारे । उनीहरु सबैले चार हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना र रुट्स फेसनको मुख्य प्रायोजनमा भएको रोड रेस शेर्पा मल दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, राजदरबार संग्रहालय दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बालमन्दिर, पुलिस हेडक्वाटर, गौरीधारा, राजदरबार उत्तर पूर्वमोड, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुनः शेर्पा मल दरबारमार्गमा पुगेर समापन भएको थियो ।

विजेता खेलाडीलाई पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेपाली कांग्रेसका काठमाडौं जिल्ला जिल्ला सभापति सबुज बानियाँ, गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सञ्जीव तुलाधर, उपसंयोजक सुनील श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य सुवास श्रेष्ठ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायद्वारा पुरस्कार प्रदान गरिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि