जेठ ०५, २०८१, शनिबार
               

विजय खड्गी स्मृति गोल्डकप चितवनमा

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

चितवन । वैदेशिक रोजगारका क्रममा कतारमा ज्यान गुमाएका फुटबलर विजय खड्गीको सम्झनामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गरिने भएको छ । जिल्ला फुटबल संघको आयोजनामा स्व विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ हुन लागेको हो ।

यही चैत १२ देखि २१ गतेसम्म नारायणगढको क्याम्पाचौरमा हुने प्रतियोगिताको तयारी तीव्रगतिमा भइरहेको जनाइएको छ । संघका अध्यक्ष श्रीकृष्ण कार्कीले मैदान मिलाउनेदेखि प्यारापिट निर्माणको काम भइरहेको जानकारी दिए । प्यारापिट तीन हजार दर्शक क्षमताको हुनेछ ।

प्रतियोगितामा ‘ए’ डिभिजन लिगदेखि राष्ट्रिय टिमका खेलाडी सम्मिलित १० टोली सहभागी हुने संघका महासचिव एवं प्रतियोगिताका सञ्चार संयोजक रामहरि ढकालले बताए । प्रतियोगितामा चितवनका दुईसहित हेटौँडा, पोखरा, काठमाडौं, उदयपुर, बुटवल, नुवाकोट, सिन्धुली र प्रदेश २ को वाग्मती गरी १० टोली सहभागी हुनेछन् ।

प्रतियोगिताका विजेताले तीन लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचले पाँच हजार रुपैयाँ, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागतरूपमा उत्कृष्ट हुने खेलाडीले १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि २७ लाख ७३ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

एन्फा २०५७ ब्याचका खड्गीले नेपालबाट अण्डर–१३ र अण्डर–१४ गरी दुई उमेर समूहका खेल खेलेका थिए । कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारका लागि कतार गएका खड्गीको ३२ वर्षको उमेरमा निधन भएको थियो । उनका एक छोरा छन् । प्रतियोगिताबाट बचेको रकम खड्गीका छोराको अध्ययनका लागि सहयोग गरिने आयोजकले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि