जेठ ०१, २०८१, मंगलबार
               

बस्ती–बस्तीबाट क्रिकेट खेलाडी छनोट गरिँदै

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

महोत्तरी । महोत्तरीका बस्ती–बस्तीबाट क्रिकेट प्रतियोगिताका लागि सम्भावनायुक्त खेलाडी छनोट गरिँदैछ ।

क्रिकेटका स्थापित खेलाडी स्व विशाल गुप्ता र कुन्दन सिंहको सम्झनामा जिल्ला क्रिकेट संघ महोत्तरीले आयोजना गर्न लागेको स्व विशाल गुप्ता एवं कुन्दन सिंह मेमोरियल जिल्ला अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिता २०७७ का लागि अहिले बस्ती–बस्तीबाट खेलाडी छनोट प्रक्रिया थालिएको हो ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहलाई सहभागी गराइने प्रतियोगिताबाट अन्तर जिल्ला, प्रादेशिक र राष्ट्रिय प्रतियोगिताका लागि उम्दा खेलाडी छनोट हुने जिल्ला क्रिकेट संघ महोत्तरीले अपेक्षा लिएको छ ।

यसपालि आगामी चैत २२ गतेदेखि सुरु हुने अन्तरपालिकास्तरीय प्रतियोगिताका लागि अहिले सबै पालिकामा खेलाडी छनोटको क्रम थालिएको संघका जिल्ला अध्यक्ष रोशनकुमार सिंहले जानकारी दिए ।

‘जिल्लाका सबै पालिकाको सहभागिता हुने अपेक्षासाथ हामीले प्रतियोगिताको तालिका बनाएका छौँ’, अध्यक्ष सिंहले भने, ‘यस प्रतियोगिताको माध्यमले भित्री गाउँ–नगर बस्तीमा ओझेलमा परेका खेलाडी उजागर हुनेछन् ।’

संघले चैत २२ देखि सुरु हुने प्रतियोगिताका लागि बिहीबारदेखि नै टिम दर्ता प्रक्रिया सुरु गरेको छ । यो क्रम चैत १० गतेसम्म रहने संघको तालिकामा उल्लेख छ । जिल्लाका सबै पालिकाले सहभागिताको प्रतिबद्धता जनाउँदै टिम दर्ता गर्ने जानकारी प्राप्त भइरहेको अध्यक्ष सिंहको भनाइ छ ।

संघले प्रतियोगितामा रु ३२ लाख खर्च हुने जनाएको छ । ‘हामीले उत्कृष्ट टिम र खेलाडीका लागि पुरस्कारको व्यवस्था गरेका छौँ’, अध्यक्ष सिंहले भने । प्रतियोगितामा प्रथम हुने टोलीलाई एक लाख एक हजार रुपैयाँ र दोस्रो हुने टोलीलाई ५१ हजार रुपैयाँ तथा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।

यसैगरी म्यान अफ दि सिरिजलाई २० हजार रुपैयाँ, इमर्जिङ प्लेयरलाई १५ हजार रुपैयाँ, बेस्ट व्याट्सम्यान र बेस्ट बलरलाई १०–१० हजार रुपैयाँ र  म्यान अफ दि म्याच खेलाडीलाई दुई हजार ५०० रुपैयाँका दरले प्रत्येक खेलमा प्रदान गरिने अध्यक्ष सिंहले जानकारी दिए ।

जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वर रङ्गशालामा आयोजना हुने यस प्रतियोगिताको पोशाक वितरण तथा ट्रफी उद्घाटन चैत १५ गते र खेलतालिका पनि सोही दिन कप्तान, टिम प्रशिक्षक, टिम व्यवस्थापक र प्राविधिक समितिको संयुक्त बैठकबाट टुङ्ग्याइने संघले जनाएको छ । प्रतियोगिता ५० ओभरको प्रणालीमा हुने संघले स्पष्ट पारेको छ ।

जिल्लाका बस्ती–बस्तीमा क्रिकेटबारे बढ्दो चासोको सम्मान संघले गरेको अहिले खेलप्रेमीले टिप्पणी गरेका छन् । जिल्लाभित्रका सबै पालिकाको सहभागिता हुने प्रतियोगिताबाट प्रत्येक टोलीका उत्कृष्ट खेलाडी छनोट गरी जिल्लाको उत्कृष्ट टोली बनाउन यो आयोजनाले सहयोग पुग्ने मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको विश्वास छ । 


कस्तो लाग्यो ?

यो पनि