बैशाख १७, २०८१, सोमबार
               

चैतमा हुने भयो वीर गणेशमान सिंह रोड रेस

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । वीर गणेशमान सिंह दोस्रो १० किलोमिटर रोड रेस चैत पहिलो साता हुने भएको छ ।

वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गतको वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा सो रेस हुने भएको हो ।प्रतियोगिता चैत ७ गते हुने आयोजक कमिटीका संयोजक सञ्जीव तुलाधरले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

रेस डाइरेक्टर सुशील नरसिंह राणाले प्रतियोगितामा ४ देखि ५ सयसम्म खेलाडीको सहभागिता रहने जानकारी दिए । उनले एक हप्तापछि खेलाडी दर्ता प्रक्रिया सुरु हुने बताए । पुरुष/महिला दुवैमा शीर्ष पाँच स्थानमा रहने खेलाडीले क्रमशः ६० हजार, ३० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

छैटौँदेखि दसौँ स्थान हात पार्नेलाई ४ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने छ । १० किलोमिटर दूरीको दौड दरबारमार्गस्थित शेर्पा मलबाट सुरु भई पुनः त्यही आएर टुंगिने छ ।

रुट्स फेसन प्रालि (एडिडास) को प्रायोजनमा हुन लागेको दौडको अनुमानित बजेट करिब १२ लाख रुपैयाँ रहेको छ । रुट्स फेसन प्रालिका डाइरेक्टर राजीव श्रेष्ठले नेपाली खेलकुदको विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रायोजन गरिएको बताए ।

कोर्ष रेकर्ड ब्रेक गर्ने पुरुष तथा महिला खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ । गोपीचन्द्र पार्कीको नाममा ३२ मिनेट ०१.२ सेकेन्ड तथा सन्तोषी श्रेष्ठको नाममा ३९ मिनेट १०.९८ सेकेन्डको कोर्ष रेकर्ड रहेको छ ।

नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेताद्वय पहिलो संस्करणका विजेता पनि हुन् । पत्रकार सम्मेलनमा संयोजक तुलाधरले आगामी बैशाखमा कमिटीले राष्ट्रिय फेन्सिङ प्रतियोगिता पनि आयोजना गर्न लागेको जानकारी गराए । 


कस्तो लाग्यो ?

यो पनि