काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत बिहीबार भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । एफिएफ क्लबले चन्द्रपुर नगरपालिकालाई ६–० गोलले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपिएफले खेलको १४औँ मिनेटमा खेलमा अग्रता लिएको थियो । त्यसको लागि भण्डारीले पहिलो गोल गरेकी थिइन् । उक्त खेलको २२औँ मिनेटमा एपिएफले थप एक गोल गरेको थियो ।
मध्यान्तरपछिको खेलमा एपिएफका लागि खेलको ६१औँ मिनेटमा भण्डारीले नै गोल गरेकी थिइन् । लगत्तै एपिएफका लागि अनिता बस्नेतले गोल गरिन् । खेलको ७१औँ मिनेटमा एपिएफका लागि पाँचौ गोल भण्डारीले नै गरिन् भने खेलको ८९ औँ मिनेटमा एपिएफका लागि छैटौँ गोल प्रिती राईले गरेकी थिइन् ।