जेठ ०५, २०८१, शनिबार
               

प्रधानमन्त्री कप क्रिकेट : बागमतीद्वारा सुदूरपश्चिम पराजित

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा बागमती प्रदेश विजयी भएको छ । बागमतीले सुदूरपश्चिम प्रदेशलाई १८१ रनले पराजित गरेको हो । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुदूरपश्चिम प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि बागमतीले पहिला ब्याटिङ गरेको थियो । बागमतीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २९९ रन बनायो । ३०० रनको विजय लक्ष्य पाएको सुदूरपश्चिमले २१ ओभरमा सबै विकेट गुमाएर ११९ रन मात्र बनाउन सक्यो । बागमतीका लागि पृथु बाँस्कोटा र आदिल खानले अर्धशतकीय पारी खेले । बाँस्कोटाले ९४ बलमा ८४ रनको योगदान दिए । 

यस्तै खानले ८६ बलमा १० चौकाको मद्दतमा ६३ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले ३२, विपीन आचार्यले ३२, पारस खड्काले २०, इशान पाण्डेले १७, आकाश थापाले १३ तथा रामनरेश गिरीले अविजित १० रन बनाए । 

बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशीले तीन, भोजराज भट्ट र सन्तोष भट्टले दुई दुई तथा विनोेद लामाले एक विकेट लिए । ३०० रनको विजय लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले २१ ओभरमा ११९ रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमले ६ ओभर खेल्दा पाँच विकेट गुमाएको थियो । त्यो बेला उसको स्कोर १८ रनमात्र थियो । सुदूरपश्चिमका लागि नारायण जोशीले अविजित ४४, अर्जुन साउदले ३१ तथा किरण ठगुन्नाले २४ रन बनाउनुभयो । बलिङतर्फ बागमती प्रदेशका रामनरेश गिरी एक्लैले चार विकेट लिए । 

उनले पाँच ओभर बलिङ गर्दै ३२ रन मात्र खर्चिए । यस्तै नन्दन यादवले दुई तथा दीपेश श्रेष्ठ, तिलक भण्डारी र विपीन आचार्यले एक एक विकेट लिए । 


कस्तो लाग्यो ?

यो पनि