फ्रेञ्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले थोमस टुकललाई प्रशिक्षकबाट बर्खास्त गरेको छ ।
सन् २०१८ मा पिएसजीको प्रशिक्षक नियुक्त भएका उनले क्लबलाई दुई लिग उपाधि जिताएका थिए भने एक फ्रेञ्च कप र फ्रेञ्च लिग कपको च्याम्पियन बनाए ।
पिएसजी गत सिजनको युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो। फाइनलमा पिएसजीलाई जर्मन क्लब वायर्न म्युनिखले १-० गोलले पराजित गरेको थियो ।
जारी सिजनमा सोचेअनुरुप प्रदर्शन गर्न नसकेको पिएसजी अंक तालिकामा तेस्रो स्थानमा छ। तेस्रो स्थानमा भए पनि पिएसजीले शीर्ष स्थानको लियोन भन्दा एक अंक मात्र कम जोडेको छ ।
बुधबार स्ट्रार्सवर्गविरुद्ध पिएसजीले ४-० को जित हात पारेको केही घन्टामै टुकललाई प्रशिक्षकबाट हटाइएको हो । जर्मन क्लब बोरूसिया डर्टमन्डका पूर्व प्रशिक्षक टुकल र पिएसजीबीच यहि सिजनको अन्त्यबाट सम्झौता सकिँदै थियो।
टुकल बर्खास्तमा परेसँगै टोटेनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनोको नाम पिएसजीसँग जोडिएको छ । ४८ वर्षीय पोचेटिनो सन् २०१९ मा टोटेनहम छाडेपछि कुनै टिममा आबद्ध भएका छैनन् ।