जेठ ०३, २०८१, बिहीबार
               

कीर्तिमानी पौडी प्रशिक्षक कार्कीले पाए अवकाश

नेपाल फ्ल्यास
मंसिर २१, २०७७

ADVERTISEMENT

उमेर हदका कारण राष्ट्रिय खेलकुद परिषद्बाट आइतबारदेखि अवकाश पाएका पौडीका वरिष्ठ प्रशिक्षक ईश्वर कार्कीलाई परिषद् मातहतका प्रशिक्षकहरूले बिदाइ गरेका छन् ।

ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा आयोजित कार्यक्रममा कार्कीले खेलकुद परिषद्मा कार्यरत रहँदा तीता–मिठा सबै अनुभव बटुल्न पाएको बताए । नेपालमा आयोजित पहिलो दक्षिण एसियाली खेलकुदको पौडीका पदक विजेता समेत रहेका कार्कीले प्रशिक्षकका रूपमा पनि अनेकौँ कीर्तिमान बनाएका छन् । उनीपछि सन् १९९९ मा काठमाडौँमा सम्पन्न आठौँ दक्षिण एसियाली खेलकुदमा मात्र नेपालले पौडीमा पदक जितेको थियो ।

पौडीको मुख्य प्रशिक्षकसमेत रहिसकेका कार्कीलाई पछिल्ला केही वर्ष भने पौडीका प्रमुख जिम्मेवारीबाट पाखा लगाउने कार्य भइरहेको थियो । पौडी पोखरीबाट टाढा राखिएका उनले अवकाश पाएको अन्तिम दिन ललितपुर जिल्ला खेलकुद विकास समितिमा हाजिर गरेका थिए । तर, नेपाललाई काठमाडौँमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुदको पौडीको प्रशिक्षण टोलीमा भने उनलाई समावेश गरिएको थियो । जसमा नेपालकी गौरीका सिंहले ऐतिहासिक ४ स्वर्ण, १ रजत र २ कांस्य पदक जितेकी थिइन् ।

परिषद्भित्रै पाखा लगाउने क्रमको थालनीपछि उनले आफ्नै छोरी करिष्मा कार्कीलाई पौडी खेलाडीका रूपमा सफल बनाए । करिष्माले पाँचौँ राष्ट्रिय खेलकुदमा जितेका कीर्तिमानी १२ स्वर्ण पदकलाई उनी आफ्नो प्रशिक्षण जीवनको सर्वाधिक सफलता मान्छन् । साथै ओलम्पिक्समा नेपालको तर्फबाट पौडी प्रशिक्षकका रूपमा सहभागिता जनाउने पनि उनी नै पहिलो हुन् । उनले रियो ओलम्पिक्समा गौरीका सिंह कै प्रशिक्षकका रूपमा सहभागिता जनाएका थिए । तर, उनी गर्वका साथ भन्छन्, ‘गौरीका नेपालकी गौरव हुन् तर, हामी नेपाली प्रशिक्षकले जन्माएकी खेलाडी भने होइनन् ।’

प्रशिक्षक कार्कीलाई पौडीका मुख्य प्रशिक्षक शङ्कर कार्की लगायतले उपहार स्वरुप बिदाइ गरेका थिए । प्रशिक्षकका रूपमा परिषद्बाट बिदा भए पनि कार्कीले नेपाल पौडी सङ्घका सचिवको जिम्मेवारीमा रहेर पौडीसँग नाता जोडिरहने छन् । सोही कार्यक्रममा बिदाइ ग्रहण गर्दै प्रशिक्षक कार्कीले आफू कुनै न कुनै रूपमा पौडी खेलमा आबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दै राम्रा खेलाडी तयार पार्न जागिर नै खानु पर्छ भन्ने मानसिकतामा आफूमा नरहेको पनि बताए ।


कस्तो लाग्यो ?

यो पनि