दुबइमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)को आज जारी फाइनल खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई १५७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५६ रन बनाएको हो।
सुरुवातमा खस्केको दिल्लीको ब्याटिङलाई रिशब पन्त र कप्तान श्रेयस ऐय्यरले ९६ रनको साझेदारी गर्दै उकासेका थिए । दिल्लीका लागि ऐय्यरले अभिजित रहँदै सर्वाधिक ६५ रन बनाउँदा पन्तले ५६ रन बनाए ।
यसअघिको खेलमा ओपनिङ गर्दै आक्रमक ब्याटिङ गरेका मार्कस स्टोइनिस यो खेलमा भने शून्य रनमा आउट भए । त्यस्तै, शिखर धवनले १५ रन जोड्दा अन्य ब्याट्समेनले दोहोरो अंकको रन जोड्न सकेनन् ।