जेठ ०५, २०८१, शनिबार
               

पेलेपछि ब्राजिलका लागि दोस्रो धेरै गोल गर्ने खेलाडीमा नेइमार

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

विश्वकप छनोट अन्तर्गत आज बिहान भएको खेलमा ब्राजिलले पेरुमाथि जित निकालेको छ । स्टेडिओ नासिओनल डी लिमामा भएको खेलमा ब्राजिलले घरेलु टोलीमाथि ४-२ गोल अन्तरले जित निकालेको हो ।

ब्राजिलको जितमा नेइमारले ह्याट्रिक पूरा गर्दा रिचार्लीसनले १ गोल गरे ।

खेलमा अग्रता भने पेरुले बनाएको थियो । खेलको छैटौँ मिनेटमा एन्ड्री क्यारिल्लोले पेरुलाई अग्रता दिलाएका थिए । उता ब्राजिलका लागि २८ औं मिनेटमा नेइमारले पेनाल्टीमार्फत गोल गर्दा पहिलो हाफमा खेल १-१ को बराबरीमा रोकियो ।

दोस्रो हाफमा पनि अग्रता पेरुले नै बनाएको थियो । ५९ औं मिनेटमा रेनाटो टापियाले गोल गर्दै घरेलु टोलीलाई फेरि अग्रता दिलाए । तर त्यसको पाँच मिनेटभित्रै ब्राजिलका रिचार्लिसनले खेल बराबरीमा ल्याए । त्यस्तै ८३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै नेइमारले ब्राजिललाई अग्रता दिलाए ।

पेरुका कार्लोस कासेडा र कार्लोस जाम्ब्रानो क्रमश ८६ र ८९ मिनेटमा रातोकार्ड खाँदै बाहिरिए । त्यसपछि खेलको अतिरिक्त समयमा नेइमारले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

ह्याट्रिकसँगै नेइमार ब्राजिलका लागि धेरै गोलगर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । उनले रोनाल्डोलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएका हुन् । रोनाल्डोले आफ्नो करियरमा ६२ गोल गरेका थिए भने नेइमारले ६४ गोल पुर्‍याएका छन् । त्यस्तै ब्राजिलका सर्वाधिक गोलकर्ता पेलेले ७७ गोल गरेका छन् ।

लगातार दोस्रो जित निकालेको ब्राजिल अंकतालिकाको शीर्षस्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि