जेठ ०२, २०८१, बुधबार
               

आइपिएल टी-२० : सन्दीप आवद्ध दिल्ली पराजित, हैदराबादको पहिलो जित

एजेन्सी
असोज १४, २०७७

ADVERTISEMENT

युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित हात पारेको छ ।

अबुधाबीमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले पहिलो जित निकालेको हो ।

शेख जायद स्टेडियममा हैदराबादले दिएको १६३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो ।

दिल्लीका शिखर धवनले ३४ तथा ऋषब पन्तले ३२ रन बनाए । शिम्रन हिटमायरले २१ रन जोड्दा कप्तान श्रेयस आयरले १७ रन बनाए । कागिसो राबडा १५ रनमा अविजित रहे ।

दिल्लीलाई सस्तैमा समेट्न राशिद खानले तीन विकेट लिए । भुवनेश्वर कुमारले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा चार विकेट गुमाएर १६२ रन बनाएको थियो ।

हैदराबादका लागि जोनी बेयर्स्टोले ४८ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

कप्तान डेभिड वार्नरले ४५ रन जोड्दा केन विलियम्सनले ४१ रन बनाए ।

अब्दुल समाद १२ रनमा अविजित रहंदा मनिस पाण्डे तीन रनमा आउट भए ।

दिल्लीका अमित मिश्रा र कागिसो राबडाले २-२ विकेट लिए ।

यो जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ । छैटौं स्थानमा रहेको हैदराबाद अघिल्ला दुई खेलमा पराजित भएको थियो ।

पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा हैदराबाद कोलकत्ता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्लीको यो पहिलो हार हो । तर, अहिलेसम्मको तीन खेलमा सन्दीपले खेल्ने मौका पाएका छैनन् । दोस्रो स्थानमा रहेको दिल्लीले तीन खेलमा चार अंक जोडेको छ ।

अघिल्ला दुई खेलमा दिल्ली अपराजित रहेको थियो । दिल्लीले पहिलो खेलमा किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । दोस्रो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ४४ रनले हराएको थियो ।


कस्तो लाग्यो ?

यो पनि