जेठ ०१, २०८१, मंगलबार
               

यस्तो बन्नेछ पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (तस्बिरसहित)

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना विवरण ‘डिपिआर’ तयार भएको छ । पोखरा ३३ पशुपतीघाटमा रंगशाला निर्माण हुनेछ ।

रंगशाला निर्माण गर्न १ अर्व ६० करोड लाग्ने बताइएको छ । प्रदेश सरकारको गठन भएको तीन वर्षपछि पशुपतीघाटको १७४ रोपनी जग्गा प्रदेश सरकारले भोगाधिकार प्राप्त गरेपछि रंगशाला निर्माणका लागि पहल सुरु भएको हो । 

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं खेलकुद विभाग महाशाखाका उपसचिव तेज प्रसाद काफ्लेले अब जग्गाको संरक्षण र जग्गा सम्याउने काम सुरु गरिने जानकारी दिए ।

रंगशाला १८ हजार दर्शक क्षमताको हुने बताइएको छ ।

गण्डकी सरकारले प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न आर्थिक वर्ष २०७७/०७८ का लागि दुई करोड विनियोजन गरे पनि त्यो रकम भने अब रंगशालाको जग्गा संरक्षणका लागि खर्चिने काफ्लेले बताए । 

रंगशालाको पश्चिमतर्फ सेतीनदीले विगतमा भन्दा यस वर्ष बढी क्षति पुर्याएको बताउँदै उनले नदी कटानलाई जोगाउन पोखरा महानगरपालिका वडा नं. २९ र ३३ सँग समेत समन्वय भइरहेको बताए ।

रंगशालाको निर्माण कार्य सुरु गर्नुअघि जग्गाको संरक्षण गर्नका लागि छुट्टै डिपिआर बनाउनु पर्ने भएकाले जल उत्पन्न प्रकोप र भौतिक तथा पूर्वाधार मन्त्रालायको प्राविधिकको सहयोग लिन छलफल भइरहेको उपसचिव काफ्लेले जानकारी दिए ।

अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि ठूलो बजेटको आवश्यक्ता पर्ने भएकाले प्रदेश सरकारले स्रोत जुटाउनका लागि (पहल गर्न )छलफल अघि बढाएको उनले बताए ।

सरकारले अहिले व्यवस्था गर्ने रकम, बजेटको रकमान्तर वा सुनिश्चितता गर्न सकियो भने रंगशाला निर्माण गर्न तीन देखि चार वर्ष लाग्ने बताइएको छ । त्यसो नभए दुई वर्षभित्र खेल्न मिल्ने मैदान तथा पिच तयार गर्ने र अन्य काम बजेटको सुनिश्चितासँगै अघि वढाउ पनि सकिने काफ्लेले बताए ।

यसैबीच, रंगशाला निर्माण सुरु गर्नुअघि वातावरणीय प्रभाव मुल्याकंनका लागि पनि काम अघि बढाइएको छ । रंगशाला सम्म पुग्ने बाटो, नदी नियन्त्रण, पेविलियन, पिच, होस्टल, भिआइपी विल्डिङ, मिडिया कक्ष लगाएतका संरचना निर्माण हुनेछ ।

यो पनि