स्पेनिस ला लिगा क्लब एथ्लेटिको मड्रिडले स्ट्राइकर लुइस स्वारेजलाई प्रतिद्वन्द्वी क्लब बार्सिलोनाबाट भित्र्याएको छ ।
उरुग्वेका खेलाडी स्वारेजले एथ्लेटिको मड्रिडसँग दुई वर्षको सम्झौता गरेका छन् । शुक्रबार मेडिकलमा पास भएपछि स्वारेजले सम्झौता गरेका हुन् ।
३३ वर्षका स्वारेज सन् २०१४ मा लिभरपुलबाट बार्सिलोना गएका थिए । उनले बार्सिलोनाबाट एकपटक च्याम्पियन्स लिग तथा चारपटक लिगको उपाधि जितेका छन् ।
स्वारेजले बार्सिलोनाबाट २ सय ८३ खेलमा १९८ गोल गरेका छन् ।
स्वारेजका लागि एथ्लेटिको मड्रिडले निकै कम अर्थात ६ मिलियन युरो मात्रै बार्सिलोनालाई तिरेको छ । बार्सिलोनाले उनलाई ल्याउने बेला लिभरपुललाई ७४ मिलियन पाउण्ड तिरेको थियो ।
बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएम्यानले आफ्नो योजनामा स्वारेज नरहेको बताएका थिए ।
पासपोर्टको समस्याका कारण स्वारेज इटालियन क्लब युभेन्टस जान पाएका थिएनन् ।