इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले जित सहित नयाँ सिजनको सुरुवात गरेको छ ।
सोमबार राति उल्भ्सलाई ३–१ गोल अन्तरले सिटीले हराउँदै विजयी सुरुवात गरेको हो ।
सिटीको जितमा केभिन डी ब्रुइन, फिल फोडिन र ग्याब्रियल जिससले एक एक गोल गरे ।
उल्भ्सका राउल जिमेनेजले एक गोल फर्काए ।
ब्रुइनले २० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सिटीलाई अघि बढाएका थिए । फोडिनले ३२ औं मिनेटमा सिटीको अग्रता दोब्बर पारे ।
घरेलु टोलीका जिमेनेजले ७८ औं मिनेटमा गोल गर्दै उल्भ्सलाई खेलमा फर्काउने कोशिश गरे । तर दोस्रो हाफको इन्जुरी समयमा ब्रुइनको पासमा जिससले सिटीका लागि तेस्रो गोल गरे ।
सिटीले लिगको पहिलो खेलमा जित निकाल्दै ३ अंक जोडेको छ । उल्भ्सले लिगको दोस्रो खेलमा भने हार ब्यहोरेको छ । उसको ३ अंक छ ।