एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट खेलमा अस्ट्रेलिया इंग्ल्यान्डसँग हारेको छ । तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा अस्ट्रेलियालाई इंग्ल्यान्डले हराएको हो । आइतबार राति भएको उक्त खेलमा अस्ट्रेलिया इंग्ल्यान्डसँग २४ रनले हारेको छ ।
म्यान्चेस्टरमा भएको खेलमा २३२ रनको सामान्य लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको अस्ट्रेलियाले ४८.४ ओभरमा सबै विकेटको क्षतिमा २०७ रनमात्रै बनायो । मिडिल अर्डरका ब्याट्सम्यान चल्न नसक्दा अस्ट्रेलिया हारेको छ ।
अस्ट्रेलियाको लागि कप्तान आरोन फिन्चले ७३, मार्नुस लबुस्चेनले ४८, एलेक्स क्यारीले ३६ रन बनाउनबाहेक अन्य खेलाडीले उच्च रन बनाउन बनाएनन् ।
९ रन हुँदा डेविड वार्नरलाई गुमाएको अस्ट्रेलियाले ३७ रन हुँदा मार्कुस स्टोइनिसलाई गुमाएको थियो । तर, तेस्रो विकेटको लागि कप्तान फिन्च र मार्नुसले १०७ रनको साझेदारी गरेपछि जित नजिक पुगेको थियो ।
१४४ रन हुँदा तेस्रो विकेटको रुपमा मार्नुस आउट हुँदा अब अस्ट्रेलियालाई १९.१ ओभरमा जितको लागि मात्र ८७ रन चाहिएको थियो भने ७ विकेट अझै बाँकी थियो । तर त्यसपछि अस्ट्रेलियाले लगातार विकेट गुमायो । अस्ट्रेलियाको ब्याटिङ ध्वस्त पार्ने क्रममा जोफ्रा आर्चर, क्रिस वोक्स र साम कुरनले समान ३–३ विकेट लिए ।