काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सम्पूर्ण ओलम्पियन खेलाडी तथा ओलम्पिकको तयारीमा जुटेका खेलाडीको कोरोना बीमा गरिदिने भएको छ ।
एनओसीको शनिबार बसेको (भर्चुअल) बैठकले नेपालका सम्पूर्ण ओलम्पियन खेलाडी तथा ओलम्पिकको तयारीमा जुटेका खेलाडीको कोरोना बीमा गर्ने निर्णय गरेको हो ।
बैठकले ओलम्पियन खेलाडीसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, एनओसीका सदस्य तथा कर्मचारीको समेत कोरोना बीमा गर्ने निर्णय गरेको छ ।
यसैबीच, एनओसीले कोरोना संक्रमित महासचिब निलेन्द्र राज श्रेष्ठसहित अन्य चार कर्मचारी कोरोना मुक्त भएको जानकारी दिएको छ ।
बैठकले एनओसीको मेडिकल कमिसनका अध्यक्ष डा. सरोज कृष्ण श्रेष्ठलाई संघको कार्यालय संचालनका लागि नयाँ सुरक्षा प्रोटोकल तयार गर्न निर्देशन समेत दिएको छ ।
यसका साथै कोरोना संक्रमित ओलम्पियन जित बहादुर केसीलाई एनओसीले स्वास्थ्यलाभको कामना गरेको छ ।