स्पेनिस क्लब सेभिल्लाले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।
जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेभिल्लाले उपाधि जितेको हो ।
खेलको पाँचौं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई १-० को अग्रता दिलाए ।
डिएगो कार्लोसले लुकाकुलाई पेनाल्टी क्षेत्रमा लडाएपछि इन्टरले पेनाल्टी पाएको थियो । जसमा लुकाकुले सहजै गोल गरे ।
तर , १२ औं मिनेटमा योङले गोल गर्दै सेभिल्लालाई १-१ गोलको बराबरीमा फर्काए ।
३३ औं मिनेटमा योङले व्यक्तिगत दोस्रो गोल गर्दै सेभिल्लालाई २-१ को अग्रता दिलाए । तर, ३६ औं मिनेटमा इन्टरका गोडीनले गोल गरेपछि पहिलो हाफको खेल २-२ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि खेलको ७४ औं मिनेटमा कार्लोसले गोल गर्दै सेभिल्लालाई ३-२ को जित दिलाए ।
सेभिल्लाले जितसँगै सर्वाधिक छैटौं पटकको च्याम्पियन बन्दै इतिहास रचेकाे छ । साथै सेभिल्लाले पछिल्लोपटक २०१४, २०१५ र २०१६ मा लगतार च्याम्पियन बन्दै उपाधिमा ह्याट्रिक गरेको थियो ।