बैशाख २१, २०८१, शुक्रबार
               

एन्फा अध्यक्षविरुद्ध संसदमा कारबाही माग, कर्मा भन्छन्- 'झूटो आरोप लगाइयो, म मधेसलाई सम्मान गर्छु'

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले आफूलाई बदनाम गराउन एन्फाका पूर्वपदाधिकारीहरूले षडयन्त्र रचिरहेको आरोप लगाएका छन् ।

शेर्पाले एक अनलाइनलाई ‘मधेसका जनतामा राष्ट्रियताको भावना कम भएकाले उनीहरूलाई राष्ट्रियता सिकाउन जरुरी रहेको' बताएको विषय आज बुधवार प्रतिनिधिसभामा प्रश्न उठेको थियो ।

बुधवारको बैठकमा सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पाको अभिव्यक्ति गैरजिम्मेवार रहेको बताउँदै उनलाई कारबाही गर्न माग गरेका थिए ।

नेपाल फ्ल्याससँग कुरा गर्दै एन्फा अध्यक्ष शेर्पाले त्यो आरोपलाई ठाडै अस्वीकार गरेका छन् । साथै उनले आफूले कहिल्यै मधेसका जनतामाथि त्यस्तो अशोभनीय आरोप नलगाएको तथा आफूले सो अनलाइनसँग बोलेको विषयबस्तु काँटछाँट गरेर प्रस्तुत गरिएको दाबी पनि गरेका छन् ।

‘अहिले मेरो नेतृत्वमा एन्फाका कार्यक्रमले गति लिएको छ । कारवाहीमा परेका पूर्वपदाधिकारीहरू एन्फाको कार्यक्रमबाट अत्तालिएका छन् । मलाई बदनाम गराउने कोसिस भइरहेको छ,’ अध्यक्ष शेर्पाले भने ।

साथै उनले गत वर्षदेखि मधेसका ४ जिल्ला महोत्तरी, धनुषा, सिराहा र सप्तरीमा खेलाडी उत्पादन गर्न सेनाको ब्यारेकमा नै नियमित प्रशिक्षण दिइरहेको बताउँदै खेलले राष्ट्रियताको भावना बढाउन मद्दत पुर्‍याउने बताए । सेनासँगको सहकार्यमा ब्यारेकमा प्रशिक्षण लिँदा खेलाडी पनि एक सैनिक झैँ राष्ट्रियताले ओतप्रोत हुने आफ्नो आशयलाई बङ्ग्याएर सदनमा प्रस्तुत गरिएको दाबी उनले गरे ।

शेर्पाले अहिले एन्फालाई विवादमा तानेर आफ्ना स्वार्थपूर्ति गर्न खोज्नेहरूले यो कार्य गरिरहेको आरोप पनि लगाए । साथै उनले राष्ट्रियताका विषयमा आफ्नो स्पष्ट अडान रहेको तथा मधेसका जनतामा राष्ट्रियताको भावनामा कुनै कमी नदेखेको पनि बताए । ‘म मधेस र मधेसका जनताको सम्मान गर्छु । म त्यहाँबाट पनि राम्रा खेलाडी उत्पादन गर्ने पुनीत कार्यमा लागेको छु तर, हाम्रो प्रयासलाई बिथोल्न एउटा गिरोह नै सक्रिय भएर लागेको छ,’ उनले भने । उनले सो गिरोहले नेपाली फुटबलको कहिल्यै विकास नचाहेको तथा एन्फाको माध्यमबाट आर्थिक स्वार्थपूर्ति गर्न खोजिरहेको आरोप पनि लगाए ।

सांसद श्रीवास्तवले यथार्थ कुरा बुझेर मात्र संसद् जस्तो गरिमामय स्थानमा बोल्नु शोभनीय हुने बताउँदै अध्यक्ष शेर्पाले कसैले भनेको भरमा गलत आक्षेप नलगाउन आग्रह पनि गरे ।

यो पनि