एजेन्सी । साविक विजेता लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
बुधबार राति भएको दोस्रो लिगमा स्पेनिस प्रतिद्धन्द्धी एथ्लेटिको म्याड्रिडसँग अतिरिक्त समयमा ३–२ को हार खेप्दै लिभरपुल बाहिरिएको हो ।
च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने दावी गर्दै आएको लिभरपुलले अन्ततः लस्जास्पद हार खेप्यो । लिभरपुलमाथि एथ्लेटिकोले समग्रमा ४–२ गोलको जित निकाल्यो । पहिलो लेगमा एथ्लेटिकोले लिभरपुललाई १–० गोलले हराएको थियो ।
लिभरपुललाई नकआउट गर्न एथ्लेटिकोका मार्कस लोरेन्टे दुई तथा अल्भेरो मोराटाले एक गोल गरे ।
लिभरपुलका जर्जिन्हो विजनाल्डम र रोवर्टो फिर्मिनोले एक एक गोल गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
निकै रोचक खेलमा लिभपुलले सुरुवाती अग्रता लिएको थियो ।
४३औं मिनेटमा विजनाल्डमले एलेक्स अक्सलेड चेम्वरलेनको पासमा गोलगर्दै घरेलु टोलीको उत्साह बढाए ।
त्यसपछि निर्धारित ९० मिनेटमा थप गोल नभएपछि खेल अतिरिक्त समयमा गएको थियो ।