इंलिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडसँग दोस्रो स्थानको म्यानचेस्टर सिटी २–० ले पराजित भयो । जीतसँगै चौथो स्थानको म्यानचेस्टर युनाइटेडले तेस्रो स्थानको चेल्सीसँगको आफ्नो अंकदूरीलाई तीन अंकमै कायम राख्यो ।
युनाइटेडको जीतमा उ जत्तिकै खुसी हुने अर्को क्लब लिभरपुल हो । शीर्ष स्थानको लिभरपुलले लिगमा २९ खेलबाट ८२ अंक जोडेको छ । सन् १९९२ मा इंलिस प्रिमियर लिग सुरु हुँदा लिभरपुल इङल्यान्डकै सफल क्लब थियो, यतिबेलासम्म फुटबल लिग फस्ट डिभिजन इङल्यान्डको माथिल्लो लिग प्रतिस्पर्धा थियो र सर्वाधिक १८ पटक यो उपाधि जितेको किर्तिमान लिभरपुलको नाममा थियो ।
तर, प्रिमियर लिग सुरु भएयता लिभरपुलले कहिल्यै उपाधि जित्न सकेन । लिभरपुलले अन्तिमपटक लिग जितेको १९८९–९० मा हो । त्यसयता, दुईपटक युरोपेली च्याम्पियन्स लिग (२००५, २०१९), दुईपटक एफए कप, चारपटक फुटबल लिग कप, तीनपटक कम्युनिटी शिल्ड, एकपटक युरोपा लिग, तीनपटक युरोपियन सुपर कप र एकपटक फिफा क्लब विश्वकप जितेपनि त्यसले प्रिमियर लिग उपाधिको अभाव पुर्ति गर्न सकेन ।
यसपटक लिभरपुल भोक पूरा गर्ने संघारमा छ । दोस्रो स्थानको सिटीविद्ध म्यानचेस्टर युनाइटेडले जित दर्ता गर्नुको मतलब अब, बाँकी नौमध्ये दुई खेल जित्दा लिभरपुल च्याम्पियन हुनेछ ।
तर लिभरपुललाई चिन्ता थपिएको छ । ३० वर्षपछि उपाधि जित्दाको खुसीयाली आफ्ना समर्थकसँग मनाउने खेलाडीको चाहना अधुरो रहनसक्छ । कोभीड–१९ कोरोना भाइरसको त्रासका कारण लिभरपुलले बन्द रंगशालामै आफ्ना बाँकी खेल खेल्नुपर्ने हुनसक्छ र यो अवस्था पक्कै पनि इतिहास बनाउन खोज्ने क्लबका लागि सुखद रहनेछैन ।
कोभीड–१९ को त्रासका कारण अहिले प्रिमियर लिगका खेलअघि खेलाडीबीच हात मिलाउने क्रम रोकिएको छ । इटलीमा त बिना दर्शक नै क्लबहरुले लिग खेल्दैछन् । विज्ञहरुका अनुसार कोभीड–१९ को महामारी बढ्दै गएमा इङल्यान्डमा पनि यस्तो हुनसक्छ ।
त्यसो त उपाधितर्फ अग्रसर भइसकेको लिभरपुलले सोमबार मेइ १८ मा विजय परेड गर्ने तयारी समेत गरिसकेको थियो, तर अब यो तयारी पनि अन्यौलमा छ । लिभरपुलले आफ्नो समर्थकसँग सडकमा निस्केर खुसीयाली त मनाउनेछ नै, तर कोरोनाका कारण तत्काल यस्तो संभव नहुन सक्छ । यो विजय परेडमा दशौं लाख सर्वसाधारण आउने अनुमान गरिएको थियो ।
लिभरपुल समर्थकहरुको समुह युनियन स्पिरिट अफ स्यान्क्लीका अध्यक्ष जो ब्लोटले रित्तो रंगशालामै लिभरपुलले उपाधि जित्नुपर्ने अवस्था निम्तनु दुग्भार्य हुने बताए ।
‘शनिबारको खेल हेर्न रंगशाला पुग्दा मैले जति समर्थकसँग कुरा गरें । उनीहरुको चासो पनि यसैमा थियो । रित्तो रंगशालामा उपाधि जित्नुपर्ने अवस्था निम्तियो भने त्यो हाम्रा लागि दुग्भार्य हुनेछ,’ उनले भने,‘यति राम्रो खेलेर लिभरपुलले यसपटक उपाधि जित्दैछ र यस्तो अद्भूत क्षणमा दर्शक साक्षी हुन नपाउनु बिडम्बना हो । मलाई लाग्छ लिभरपुलका सबै समर्थक यस्तो इतिहास बनेको समय त्यहाँ पुग्न चाहन्छन् । हामी केवल कामना गर्नसक्छौं । यस्तो अवस्था नआओस् ।’
फोर्ब्सकाअनुसार विश्वभर लिभरपुलका झन्डै ७० करोड ७० लाख समर्थक छन् । एनफिल्डको दर्शक क्षमता ५४ हजार ७४ छ । ब्लोटले कोरोना फैलन नदिनका लागि पूर्वतयारी गर्न क्लबका अधिकारीहरुसँग पटक–पटक कुराकानी भइरहेको बताए ।
‘तर, फुटबल अघि बढ्दै जाँदा यो अवस्था पनि परिवर्तन हुनसक्छ । सबै जानकार हुन हामी स्वास्थ्यकर्मी होइनौं,’ उनले भने,‘ तर अधिकारीहरुले यो बुझ्न जरुरी छ कि रंगशाला बन्द भयो भने एनफिल्ड नजिकका रेस्टुरेन्ट र पबमा समर्थकको भीड लाग्नेछ ।’