एजेन्सी । ब्राजिलका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान रोनाल्डिनो पाराग्वेमा पक्राउ परेका छन् । नक्कली राहदानीसहितका कागजातसहित पाराग्वे आएको आरोपमा बुधबार राति रोनाल्डिनो र उनका दाइ रोबेर्टो एसिस पक्राउ
परेका छन् ।
उनीहरु रोनाल्डिनोको जीवनीमा आधारित किताबको प्रचार गर्न र एक कार्यक्रममा सहभागी हुन बुधबार बिहान मात्र पराग्वे पुगेका थिए । पक्राउ परेका दुवैजनालाई प्रहरी चौकी लगिएको छैन र याट एन्ड गल्फ क्लबमा राखिएको दाबी गरिएको छ । पासपोर्टमा वास्तविक नाम, जन्म मिति उल्लेख छ तर उनलाई पाराग्वेको नागरिक भनेर लेखिएको छ ।
रोनाल्डिनोलाई सन् २०१५ मा एक मुद्दामा ८ मिलियन डलर जरिवाना तिर्न लगाएको थियो तर उनले उक्त जरिवाना तिर्न नसकेपछि उनको पासपोर्ट जफत गरिएको थियो ।
रोनाल्डिनो हुँदा ब्राजिलले सन् २००२ मा विश्वकप जितेको थियो र दुईपटकसम्म फिफा वल्र्ड प्लेयर उपाधि जितेका थिए । उनी लामो समय स्पेनिस क्लब बार्सिलोनाबाट पनि खेलेका थिए ।