काठमाडौं, २१ फागुन । एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा थाइल्याण्डविरुद्ध ६७ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो झट्का लागेको छ । आजको खेलमा कुशल मल्ल र पारस खड्काले ओपनिङ गरेका थिए ।
त्यसमध्ये ५ बल फेस गरेका पारस ९ रन बनाएर आउट भए । कुशललाई साथ दिन अहिले पवन शर्राफ आएका छन् । यसअघि दुई खेलमा ओपनिङ गरेका ज्ञानेन्द्र मल्ल पछिल्लो क्रममा ब्याटिङमा आउने छन् ।
टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा सबैविकेट गुमाएर ६६ रन बनाएको थियो ।
थाइल्याण्डका हेनन जोर्डन सर्वाधिक १३ रन बनाएर आउट हुँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । ३ जना खेलाडी रन आउट भए ।
नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट लिँदा अबिशनाश बोहोराले २ विकेट लिए । यसैगरी सन्दीप लामिछाने र भुवन कार्कीको नाममा एक एक विकेट रह्यो । भुवनले आजै डेब्यु पनि गरेका हुन् । नेपालका ६ जनाले थाइल्याण्डविरुद्ध बलिङ गरे ।
करण केसीले ४ ओभर बलिङ गर्दा १२ रन खर्चिएर तीन विकेट लिए । यसैगरी अबिनाशले ४ ओभर बलिङ गर्दा २३ रन दिएर २ विकेट लिए ।
सन्दीपले ४ ओभरमा ९ रन खर्चिएर १ विकेट लिए भने भुवन कार्कीले ४ ओभरमा ६ रन खर्चिदैं एक विकेट लिए । पारस खड्काले २ ओभरमा ३ रन दिए भने कुशल मल्ले २ ओभरमा ४ रन खर्चिएका थिए ।