मंसिर ०७, २०८१, शुक्रबार
               

न्युजिल्यान्डविरुद्ध भारतको कमजोर ब्याटिङ

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

न्युजिल्यान्डसँगको दोस्रो टेस्ट शृंखलाअन्तर्गत दोस्रो खेलमा भारतले खराब ब्याटिङ गरेको छ । दोस्रो दिनको खेल सकिँदा भारतले ३६ ओभरमा ९० रन बनाएको छ भने उसको ६ विकेट झरिसकेको छ । 

भारतका हनुमा विहारी ५ र ऋषभ पन्त १ रनमा क्रिजमा छन् । दोस्रो ओभरको पाँचौ बलमै ट्रेन्ट बोल्टले ओपनर मयंक अग्रवाललाई ३ रनमा एलबिडब्लू आउट गरे ।

टिम साउथीले अर्का ओपनर पृथ्वी शालाई टम लेथमबाट १४ रनमा क्याच आउट गराउँदै पेभिलिएन फर्काएका थिए । न्युजिल्यान्ड भ्रमणमा खराब प्रदर्शन गरेको भारतका कप्तान विराट कोहली दोस्रो इनिङमा मात्र १४ रनमा कोनिल डी ग्रान्डहोमको एलबिडब्लू आउट सिकार बने ।

निल वाग्ररले अजिंक्या रहानेलाई ९ र बोल्टले उमेश यादवलाई १ रनमा बोल्ड आउट गरे । त्यसअघि न्युजिल्यान्ड पहिलो इनिङमा ७३ दशमलव १ ओभरमा २ सय ३५ रनमा अल आउट भएको थियो । 

न्युजिल्यान्डका टम लेथमले १ सय २२ बलमा ५ चौका सहित सर्वाधिक ५२ रनको योगदान दिए । टम ब्लन्डेल ३०, कप्तान केन विलियम्सन ३, रस टेलर १५, हेनरी निकोलस १४ र विकेटकिपर बिजे वाटलिंगले खाता नै खोल्न सकेनन् ।

डी गा्रन्डहोम २६ र टिम साउथी शून्यमा आउट भएपछि न्युजिल्यान्ड १७७–८ को कमजोर अवस्थामा पुगेको थियो । तर नवौं विकेटका लागि निल वाग्रर र काइल जेमिसनले ५१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । 

अन्तिम विकेटका रुपमा आउट हुनुअघि जेमिसनले ६३ बलमा ७ चौका सहित ४९ रन जोडे । वाग्ररले २१ रनको योगदान दिए । भारतका मोहम्मद सामीले ४, जस्प्रित बुमराह ३, रविन्द्र जडेजा २ र उमेश यादवले १ विकेट लिए ।

शनिबार क्राइस्टचर्चमा टस हारेर ब्याटिङ थालेको भारत पहिलो इनिङमा ६३ ओभरमा २ सय ४२ रनमा समेटिएको थियो। ओपनर पृथ्वी शाले ६४ बलमा ८ चौका र १ छक्का सहित ५४ रन जोडे ।

टिम साउथीले कप्तान विराट कोहलीलाई ३ रनमा एलबिडब्लू आउट गरे । अजिंक्या रहाने ७ रनमा आउट हुन पुगे । पाँचौ विकेटका लागि हनुमा विहारी र चेतेश्वर पुजाराले ८१ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए ।

विहारीलाई निल वाग्ररले विकेटकिपर बिजे वाटलिङबाट ५५ रनमा क्याच आउट गराए । चेतेश्वर पुजारा ५४, ऋषभ पन्त १२, रविन्द्र जडेजा ९, मोहम्मद शामी १६ रनमा आउट हुँदा जस्प्रित बुमराह १० रनमा नट आउट रहे ।

न्युजिल्यान्डका काइल जेमिसनले १४ ओभरमा ३ मेडन सहित ४५ रन खर्चेर ५ विकेट लिए । टिम साउथी र ट्रेन्ट बोल्टको नाममा २–२ विकेट रह्यो । दोस्रो दिन समग्रमा २ सय ६२ रन बन्दा कुल १६ विकेट पतन हुन पुग्यो ।

यो पनि