एजेन्सी । फुटबल क्लब लिभरपुलले इङलिस प्रियिमर लिग फुटबलमा कीर्तिमानी जित निकालेका छ ।
गएराति वेस्ट ह्यामलाई पराजित गर्दै लिभरपुलले म्यान्चेष्टर सिटीले कायम गरेको लगातार १८ जितको कीर्तिमान बराबरी गरेको हो ।
रेलिगेशन जोनमा रहेको वेस्ट ह्यामबिरुद्ध लिभरपुलले ३–२ को जित निकाल्यो ।
पछिल्लो जितसँगै लिभरपुललाई प्रियिमर लिगको ऐतिहासिक उपाधि जित्न अब मात्र ४ जित आवश्यक छ ।
सन् २०१७ को अगष्टदेखि डिसेम्बरसम्म सिटीले १८ खेलमा लगातार जित निकालेर कीर्तिमान कायम गरेको थियो ।
चालू सिजन निकै फर्ममा रहेको लिभरपुलले सिटीको सो कीर्तिमान बराबरी गरेको हो । लिभरपुलले गत अक्टोबरमा म्यान्चेष्टर युनाईटेडसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । त्यसपछि लिभरपुल लिगमा निरन्तर विजयी छ ।
गएराति भएको खेलको नवौं मिनेटमा जर्जिन्हो विजनाल्डमले लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि वेस्ट ह्यामका इस्सा डिपले गोल गरे र खेललाई बराबरीमा ल्याए ।
दोस्रो हाफमा पाब्लो फोर्नाल्सले गोल गरे र वेस्ट ह्याम खेलमा अगाडि बढ्यो । ६८ औ मिनेटमा मोहमद सलाहाले खेललाई बराबरीमा ल्याए । खेलको ८१ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई महत्वपूर्ण तीन अंक दिलाउन सफल भए ।
लिगमा लिभरपुलले २२ अंकको अग्रता कायम गर्यो । वेस्ट ह्याम २४ अंक सहित रेलिगेशन जोनमै छ ।