इङ्लिस क्लब आर्सनलले युइएफए युरोपा लिग फुटबलको राउन्ड अफ ३२ मा जित निकालेको छ । बिहिबार राति भएको खेलमा आर्सनलले ग्रिसको ओलम्पियाकोसलाई उसैको मैदानमा १–० गोलले हरायो ।
आर्सनलको जितमा अलेक्आन्द्रे लाकाजेट्टीले ८१औं मिनेटमा निर्णायक गोल गरे । अर्को खेलमा युनाइटेड बेल्जियन क्लब ब्रुगसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
ब्रुगले १५ औ मिनेटमा इमानुअल डेनिसको गोलमा अग्रता लिएको थियो । त्यसपछि युनाइटेडका एन्थोनी मार्सियले ३६औं मिनेटमा बराबरी गोल फर्काएका थिए । बर्षाले प्रभावित खेलमा दोस्रो हाफमा थप गोल नभएपपछि युनाइटेड बराबरीमा चित्त बुझाउन बाध्य बन्यो ।
अर्को खेलमा रोमेलु लुकाकुको सानदार प्रदर्शनमा इटालियन क्लब इन्टर मिलानले बुल्गेरियन क्लब लुडोगोरेट्स राजग्राडलाई उसकै मैदानमा २–० गोलले हरायो । इन्टरको जितमा क्रिस्टियन इरिक्सनले ७१औं मिनेटमा पहिलो गोल गरे । उनले लुकाकुको पासमा गोल गरेका थिए ।
दोस्रो हाफको इन्जुरी सममा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई सजिलै जिताए । लुडोगोरेट्स एनिसेट एबेलले डानिलो डि एम्ब्रोसियोलाई डिबक्स भित्र लडाएपछि इन्टरले पेनाल्टी पाएको थियो ।
अन्य खेलमा रोमाले जेन्टलाई १–०, वल्भ्सले स्पान्योललाई ४–० र गेटाफेले आजाक्सलाई २–० गोलले पराजित गरेको छ । दोस्रो लेगका खेल फेब्रुअरी २७ मा हुनेछ ।