ब्राजिलका महान् फुटबलर पेले डिप्रेसनमा पुगेका छन् । उनका छोरा इडिन्होले पेले डिप्रेसनमा पुगेको बताएका हुन् । ‘उनी कमजोर अवस्थामा छन् र उनका लागि उपयुक्त उपचार अझै मिलेको छैन,’ ४९ इडिन्होले टिभी ग्लोबोसँग भनेका छन् ।
इडिन्होका अनुसार पेलेलाई हिंडडुल गर्न पनि समस्या छ । ७९ वर्षका पेले तीनपटकका विश्वविजेता हुन् । न्युर्योक कस्मसबाट आफ्नो खेलाडी जीवन टुग्यांउनुअघि उनले आफ्नो करियरको लामो समय ब्राजिली टिम सान्तोषबाट खेलेका थिए ।
तीनपटकसम्म विश्वकप जित्ने उनी एक्लो फुटबलर हुन् । उनले सन् १९५८ मा १७ वर्षको उमेरमै विश्वकप जितेका थिए । धेरैले उनलाई विश्वकै सर्वोत्कृष्ट फटबलर मान्छन् । उनी खेलाडी जीवनको अन्त्यपछि लामो समय समाजसेवामा सक्रिय रहे । पछिल्लो समय भने उनी स्वास्थ्य समस्यासँग जुध्दैछन् ।