मंसिर ०६, २०८१, बिहीबार
               

साग फुटबलमा स्वर्ण विजेता खेलाडीलाई जनही साढे पाँच लाख दिइने

नेपाल फ्ल्यास
माघ २६, २०७६

ADVERTISEMENT

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । एन्फाको आइतबार बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

नेपालले फाइनलमा भुटानलाई हराउँदै साग फुटबलमा स्वर्ण जितेको थियो । सरकारले यसअघि स्वर्ण जितेको नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही पाँच लाख दिने घोषणा गरिसकेको छ । साग फुटबलमा रजत पदक प्राप्त गरेको महिला टोलीका खेलाडीलाई जनही एक लाख ५० हजार पुरस्कार दिने निर्णय पनि एन्फाले गरेको छ । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । 

यस्तै एन्फाले शहीद स्मारक बी डिभिजन लिग खेल्ने प्रत्येक क्लबलाई प्रतियोगिता तयारी स्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । बी डिभिजन लिगको विजेतालाई १५ लाख, उपविजेतालाई आठ लाख, तेस्रो हुने क्लबलाई पाँच लाख तथा चौथो हुनेलाई तीन लाख रुपैयाँ एन्फाले दिने भएको छ ।

यसैगरी सी डिभिजन लिगको तयारीका लागि प्रत्येक क्लबलाई सात लाख दिइने एन्फाले जनाएको छ । महिला फुटबल प्रतियोगिताका विजेतालाई १५ लाख, उपविजेतालाई आठ लाख, तेस्रोलाई पाँच लाख तथा चौथो हुनेलाई तीन लाख पुरस्कार दिने निर्णय एन्फाले गरेको छ । 

 


कस्तो लाग्यो ?

यो पनि