बैशाख ३१, २०८१, सोमबार
               

आज सागको उद्घाटन हुँदै, यस्तो छ तयारी

नेपाल फ्ल्यास
मंसिर १५, २०७६

ADVERTISEMENT

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन सत्र भव्य हुने भएको छ । सागको औपचारिक उद्घाटन आइतबार साँझ ५:०० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।

तीन घण्टा लामो उद्घाटन सत्रलाई नेपालकै गौरव गर्ने खालको भव्य र सभ्य बनाइने १३औं साग समारोह समितिका सचिव कुलबहादुर थापाले जानकारी दिए । उद्घाटनलाई लक्षित गरी हजारौं कलाकारले लामो समयदेखि तयारी गरिरहेको जानकारी पनि थापाले दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

‘उद्घाटन सत्रमा विशेषगरी नेपाली मौलिकता र कला प्रस्तुत गरिनेछ। हामी सागमार्फत नेपाललाई प्रकृति, कला र संस्कृतिको धनी देश भनेर चिनाउन चाहन्छौं । संघीय नेपालका सातवटै प्रदेश तथा हिमाल, पहाड र तराईको कलाले उद्घाटन समारोह मनमोहक बन्नेछ । उद्घाटनको यो अवसरलाई छुटाउनै नहुने र सबैले मन पराउने खालको बनाउने हिसाबले तयारी गरेका छौं’, थापाले भने ।

उद्घाटन समारोहमा विशेषगरी नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी बल, कलाकार, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रस्तुत गरिनेछ । उद्घाटनसँगै समापनको पनि उस्तै तयारी गरिएको छ । उद्घाटन र समापान दुवैमा १५ हजार जना कलाकारको प्रस्तुति रहने पनि थापाले जानकारी दिए । ‘उद्घाटनलाई सागको ऐना ठानेका छौं । ग्रान्ड रिहर्सलबाटै उद्घाटन सत्र भव्य हुने स्पष्ट भएको छ’, थापाले भने ।

सागका लागि सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालको संयोजकत्वमा समारोह समिति गठन गरिएको छ । उद्घाटनमा सबैभन्दा बढी सशस्त्रका चार हजार पाँच सय कलाकारले प्रस्तुति दिनेछन् । त्यसपछि सेनाका दुई हजार पाँच सय, नेपाल प्रहरीका एक हजार, उपत्यकाका विभिन्न ३० विद्यालयका तीन हजार विद्यार्थी, विभिन्न झाँकी चार हजार र तीन सय जनाभन्दा बढी व्यावसायिक कलाकारले विशेष प्रस्तुति दिनेछन् ।

उद्घाटन सत्रलाई थप रोचक बनाउन सेना, प्रहरी र सशस्त्रको छुट्टाछुट्टै ब्यान्डले प्रस्तुति दिनेछन् । ब्यान्डको प्रस्तुति सागको इतिहासमै ठूलो हुने दाबी थापाले गरे । त्यसबाहेक पाँच सय कलाकारले नेपालका विभिन्न मौलिक बाजा बजाउनेछन् । १५ सय जनाको मास क्यालिसथेनिक्स प्रदर्शन पनि हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतापछि सातवटै देशका खेलाडी मार्चपासबाट सुरु हुने उद्घाटनमा स्वागत भाषण, सांस्कृतिक कार्यक्रम र आतिसबाजी पनि हुनेछ। लेजर बिम, लाइटिङ, इलेक्ट्रोनिक प्रदर्शनले पनि सागको उद्घाटनलाई थप उल्लासमय बनाउनेछ ।


कस्तो लाग्यो ?

यो पनि