बैशाख ३०, २०८१, आइतबार
               

साग खेलकुद : उद्घाटन हुन छ दिन, अझै भौतिक संरचना निर्माण सकिएन

नेपाल फ्ल्यास
मंसिर १०, २०७६

ADVERTISEMENT

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन हुन ६ दिन बाँकी छ । प्रतियोगितामा भाग लिन विदेशी खेलाडी आउन थालिसकेका छन् । तर, साग आयोजक राष्ट्र नेपालका खेल पदाधिकारीलाई भौतिक संरचना निर्माणकै चटारो छ । प्रतियोगिता उद्घाटन मंसिर १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।

बंगलादेश, माल्दिभ्स र श्रीलंकाका भलिबल खेलाडी आइसकेका छन् । नेपालको हावापानीसँग घुलमिल हुन अन्य खेलका खेलाडी पनि आउन थालेका छन् । पाहुनाको सत्कारका लागि सोमबारदेखि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आगन्तुक डेक्स राखिएको छ ।

१३ औं सागको मुख्य स्थल दशरथ रंगशाला निर्माण कार्य अझै जारी छ । नेपाली खेलकुदको मुख्य निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारी पाहुनाको सत्कार गर्ने समयमा संरचना निर्माणमै हस्याङफस्याङ गरिरहेका छन् । चिनियाँ प्राविधिकको सहयोगमा अहिले दशरथ रंगशालाको भीआईपी प्यारापिटमा धमाधम छानो हाल्ने काम भइरहेको छ ।
अघिल्लो दिन धुलाम्मे र खाल्टाखुल्टी देखिने रंगशाला परिसरका सडक पेटी रातारात पिचसहित रङरोगनले चिटिक्क बन्न थालेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । 

रंगशालाको साधारण प्यारापिट निर्माणले भने पूर्णता पाएको छ । साधारण प्यारापिटमा छानो राख्ने, कुर्सी बिछ्याउने, सिन्थेटिक ट्र्याक, फुटबल मैदान, स्कोर बोर्ड, चेन्जिङ रुमलगायत संरचना तयार भइसकेका छन् ।

कभर्ड हलमा भलिबल खेलका लागि म्याट बिछ्याउने र रङरोगन गर्ने काम भइरहेको छ । भलिबल आगामी बुधबार नै सुरु हुँदै छ । सागका लागि मुख्य चासोका रूपमा रहेको सातदोबाटोस्थित अन्तर्रा्ष्ट्रिय खेलकुद परिसरमा निर्माणाधीन हिटिङ सिस्टमसहितको पौडीपोखरी हो ।

पौडीपोखरीमा टायल बिछ्याउने काम भइरहेको छ । राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल सबै काम तीव्र रुपमा भइरहेकाले संरचना निर्माणकै कारण खेल नरोकिने दाबी गर्छन् ।

‘१३औं सागको भव्य आयोजना गरेर देखाउनु नेपालको कर्तव्य हो । हतारमा काम गर्नु हाम्रो बाध्यता हो । खेलअघि सबै संरचना तयार भइसक्छ । हिटिङ सिस्टमको पौडीपोखरी निर्माण पनि सम्पन्न गरेर छाड्नेछौं,’ सिलवाल भन्छन् ।


कस्तो लाग्यो ?

यो पनि