बैशाख ३१, २०८१, सोमबार
               

सागको आयोजना किन र कस्का लागि?
पक्का छ, फितलाे आयाेजनाले स्वाहा पार्दैछ मुलुककाे अर्बाैं रूपैयाँ

नेपाल फ्ल्यास
कात्तिक २७, २०७६

ADVERTISEMENT

काठमाडौँः चाहे पनि, नचाहेपनि दक्षिण एसियाली खेलकुदको अर्को एउटा संस्करण नेपालमा आयोजना हुँदैछ । यही आउनै मङ्सिर मै । २० वर्ष अगाडि आठौँ दक्षिण एसियाली खेलकुदको आयोजना गर्दा नेपालले जति वाहावाही कमायो, अबको आयोजनामा त्योभन्दा नमिठा आलोचना खेप्नुपर्ने पक्कापक्की भने छ ।

न त लायकका भौतिक पूर्वाधार अनि तयारीमा शतप्रतिशत नालायकीपना । काठमाडौँको चिसोमा सिरकले जिउ तताउने मौसममा साधारण जनतालाई यो आयोजनाले छुन सकेको छैन । केही सीमित व्यक्ति भने साग आयोजनाका नाममा तातेका छन् । हामीले के के गर्दैछौ भनेर चिच्याउने पनि गरी नै रहेका छन् । वास्तवमा भन्ने हो भने मुखमा आएको साग आयोजना गरिब नेपालमा अर्बौं रुपैयाँको स्वाहा बाहेक कुनै उपलब्धि बोकेर सम्पन्न हुनेछैन ।

पञ्चायती व्यवस्था ढलेयता बृहत् राष्ट्रिय खेलकुदको यो पाँच पटक नेपालमा बृहत्त राष्ट्रिय खेलकुद भइसके । न ती आयोजनाले मुलुकलाई खेल पूर्वाधारले झकिझकाउ बनाउन सक्यो, नत गुणात्मक रूपमा लायक खेलाडी नै जन्माउन सक्यो । त्यसअघि तत्कालीन पञ्चायत (आजकाल नाम लियो भने अपराध झैँ मानिने) व्यवस्थामा मात्र तीन पटक आयोजना हुँदासमेत मुलुकले अथाह मात्रामा खेल पूर्वाधार पाएको थियो । जसको जगमा आज खेलाडी उत्पादन भइरहेका छन् ।

प्रजातान्त्रिक र गणतान्त्रिक व्यवस्थामा भएका बृहत राष्ट्रिय खेलकुदले यो खेल पर्वको आयोजनाको मर्मलाई बुझ्न नसक्नु वा बुझपचाइनु वास्तवमै खेल क्षेत्र विरोधी कार्य बन्दै गयो । जसले भविष्यको नेपाली खेलकुदमाथि पनि क्रुर दमन गरेकै छ । अब त्यही नियति साग जस्तो क्षेत्रीय आयोजनाले पनि दोहराउँदै छ ।

बृहत् खेलकुद अवधारणालाई तत्कालीन व्यवस्थाले केही हदसम्म पुरा नै गरेको थियो । तर, जनतामाथि जनताले राज गर्ने व्यवस्थामा भने बृहत् खेलकुदको आयोजना सीमित व्यक्तिको आयआर्जनको माध्यममात्र बन्यो र बन्दैछ । झन् साग जस्ता आयोजना गर्न पाउँदा केही व्यक्तिले दरबार नै खडा गरे पनि अचम्म मान्नु पर्दैन । तर, प्रजातन्त्र र गणतन्त्रमा भएका बृहत् राष्ट्रिय खेलकुदका आयोजनाहरूले आयोजक सहरलाई कहिल्यै खेल संरचना सम्पन्न बनाउनै सकेन जति तत्कालीन व्यवस्थामा भएका थिए । यसको अर्थ त्यो व्यवस्था नै खेलका सही थियो भन्ने होइन तर खेलकुदको नेतृत्वकर्ताको सोच भने केही अर्थ त्यही बेला दरिलो रहेछ भनेर मान्न कर लाग्छ ।

प्रजातान्त्रिक र गणतान्त्रिक व्यवस्थामा भएका बृहत राष्ट्रिय खेलकुदले यो खेल पर्वको आयोजनाको मर्मलाई बुझ्न नसक्नु वा बुझपचाइनु वास्तवमै खेल क्षेत्र विरोधी कार्य बन्दै गयो । जसले भविष्यको नेपाली खेलकुदमाथि पनि क्रुर दमन गरेकै छ । अब त्यही नियति साग जस्तो क्षेत्रीय आयोजनाले पनि दोहराउँदै छ ।

वर्तमानले सधैँ विगतलाई भुलाउन सक्नुपर्ने हुन्छ तर, विडम्बना नेपाली खेलकुद अहिले पनि विगतकै भौतिक संरचनाको भरमा अडिएको छ । यो सागका लागि भनेर तयार पार्न खोजिएको मात्र दुईटा भौतिक संरचनासमेत अहिलेसम्म कंकाल स्वरुपमै छन् । सातदोबाटोमा बन्न लागेको हिटेड पौडी पोखरी समयमा बन्ला नबन्ला? पक्का छैन । ०७२ सालको भुइँचालोले ध्वस्त दशरथ रंगशालाले उद्घाटनको अधिकार पाउला नपाउला भन्न सकिँदैन । शायद पहिलो पटक टुंडिखेल साग खेलको उद्घाटन भयो भने पनि अचम्म नहोला । जुन दर्दशा पहिलो र आठौँ दक्षिण एसियाली खेलकुदको आयोजना गर्दासमेत भोग्नु परेको थिएन ।  

हाम्रो मुलुकमा अहिले जति पनि खेल पूर्वाधार छन् । त्यसका अधिकांशः निर्माण कार्य यो व्यवस्थाले घृणा गर्ने व्यवस्थामै भएका थिए । होला, ती संरचनालाई रंगरोगन गरेर चिटिक्क पार्ने काम भने बेलाबेलामा हुने नै गरेका छन् । आठौँ साफ खेलकुद आयोजनाका लागि चीन सरकारले बेलैमा सहयोग गरिदिएको कारण लायक पूर्वाधारमा प्रतियोगिता सम्पन्न भए ।

अर्कोतर्फ बुझ्नु पर्ने कुरा के छ भने, दुई वा चार वर्षमा मुलुकभरका खेलाडीलाई एकै स्थानमा भेला गराइएर उनीहरूलाई चौरमा वा त्रिपालमा भिडाइनु अवश्य पनि बृहत खेलकुद हुनै सक्दैन । जुन भेग वा स्थानमा यसको आयोजना हुन्छ । त्यस स्थानलाई भौतिक पूर्वाधार सम्पन्न गराइनु त्यसको पहिलो र एकमात्र लक्ष्य हो । यसले गर्दा त्यो क्षेत्रको खेलकुद विकासले निरन्तरता पाइरहोस् भन्ने पनि हो । तर, राष्ट्रिय खेलकुदका आयोजनाहरूले त्यसतर्पm आँखा चिम्लिएको प्रस्ट हुन्छ । जसले साग जस्ता भव्य आयोजनाका लागि आवश्यक पूर्वाधार सधैंको आवश्यकता बन्न पुग्छन् ।

बस्, खल्ली भरियो, आयोजना सफल भयो । यही दरिद्र सोचमा घस्रिरहछ, हाम्रो मुलुक । त्यसैले त नेपाली खेलकुदका हर्ताकर्ताहरुले सोचमा कति खडेरी लागेको छ भन्ने सोच्न कुनै समय लाग्दैन ।

दक्षिण एसियाली खेलकुदको आयोजना गरिसकेको काठमाडौँमा जस्तो सहरमा पाँचौ राष्ट्रिय खेलकुद गरिँदा त पूर्वाधारको कमी महसुस गरिएको थियो भने त्यसअघि नेपालगञ्ज र पछि सुदूर पश्चिमाञ्चल, पूर्वाञ्चल र फेरी नेपालगञ्जमा आयोजना गर्दा के हविगत भयो होला, भोगिएकै हो । चौथो राष्ट्रिय खेलकुद आयोजना गरेको नेपालगञ्जमा आठौँ आयोजनाका लागि भौतिक पूर्वाधार शून्य हुनुले पनि केका लागि नेपालमा बृहत्त खेल आयोजना हुन्छन् भनेर कोट्याइरहनु पर्दैन ।

बृहत खेलकुद आयोजनाको लागि भनेर पूर्वाधारमा पनि करोडौं खर्च गरिन्छ, गरिदै आइएको छ, तर मात्र बिल भर्पाइमा । तर, आयोजनाको समाप्तिसँगै ती पूर्वाधारहरु कसरी छुमन्तर भएर गायब हुन्छन्, महान् जादुगरहरुको पनि टाउको दुखाइको विषय बन्न सक्छन् ।

वास्तवमा बृहत् राष्ट्रिय खेलकुदको आयोजना गरेका सहरहरूलाई भौतिक पूर्वाधारमा यतिसम्म सम्पन्न गराउन सक्नु पथ्र्यो कि भोलि कुनै पनि बेला त्यो क्षेत्र दक्षिण एसियाली खेलकुदसम्म आयोजना गर्न सक्ने चुनौती बोक्न सकुन् । तर, विडम्बना पछिल्लो आयोजनामा बनाइएका संरचनाले अर्को एक वर्षपछि फेरि राष्ट्रिय खेलकुद नै गराउनुपर्यो भने पनि त्यो भूगोलले पछाडि हट्नुपर्छ । तीसौं करोड खर्च गरिएको आयोजनाले अन्ततः मुलुकलाई के दियो अनि आयोजक सहर र खेलाडीहरुले के पाए भन्ने गहन सोच कहीँ कतै हुँदैन । बस्, खल्ली भरियो, आयोजना सफल भयो । यही दरिद्र सोचमा घस्रिरहछ, हाम्रो मुलुक । त्यसैले त नेपाली खेलकुदका हर्ताकर्ताहरुले सोचमा कति खडेरी लागेको छ भन्ने सोच्न कुनै समय लाग्दैन । तर पनि, उनीहरू हरेक आयोजनासँगै गरिएका आर्थिक अनियमितताबाट आफ्नो आर्थिक हैसियत कति माथि उठ्यो भन्ने हेक्का भने राखिराख्छन् ।

उदाहरणका लागि, भारतको राष्ट्रिय खेलकुद आयोजना गरेको गुवाहाटी शहरले त्यही पूर्वाधारका आधारमा पछिल्लो दक्षिण एसियाली खेलकुदको आयोजना गरेको थियो । होला, भारत आर्थिक रूपमा हामीभन्दा शक्तिशाली हुनसक्ला तर, केही गर्ने सोच अनि मनोबलमा उसलाई उछिन्न हामी असफल छौँ वा हुन्छौं भन्नु पनि गलत नै हुनसक्ला । तर, हामीले बिर्सन नहुने कुरो के छ भने कुनै पनि खेलकुद आयोजना पछाडिका अवधारणा अन्य मुलुकमा जस्तो हुन्छ हाम्रो मुलुकमा पनि त्यस्तै वा त्यसकै हाराहारीमै हुन्छ ।

नेपाल पनि पछिल्ला राष्ट्रिय खेलकुद आयोजना गरेका विराटनगर र नेपालगञ्ज आसपासका सहरहरूलाई त्यही खेलकुदलाई माध्यम बनाएर पूर्वाधार सम्पन्न गराइएको भए अहिलेको दक्षिण एसियाली खेलकुद नै त्यही भेगमा गर्न सकिन्थ्यो । सानदार तरिकाले । तर, नेपाली खेल क्षेत्रलाई हाँकेर बसेका अदूरदर्शी नेतृत्वहरुको सोच त्यहाँसम्म कहिल्यै पुग्न सकेन र सक्दैनथ्यो पनि । नत्र अहिले दक्षिण एसियाली खेलकुदको भौतिक पूर्वाधार निर्माणमा खर्च गरिएको अर्बौं रुपैयाँ समेत सही ठाउँमा खर्च गर्न सकिन्थ्यो । तर, धन्य छन्, हाम्रा खेल नेतृत्वकर्ताहरु दक्षिण एसियाली खेलकुद आयोजनाका लागि भौतिक पूर्वाधार निर्माणको नाममा कुम्ल्याउनु पर्ने रकमको बिटोको सपना राष्ट्रिय खेलकुदलाई त्रिपालमा भए पनि आयोजना गराउँछन् ।

तीतो तर यथार्थ के हो भने हाम्रो मुलुकमा साग होस् वा मात्र राष्ट्रिय खेलकुद । यस्ता खेलकुदको आयोजनाले सीमित व्यक्तिका घरका तल्ला थप्न, बैङ्क ब्यालेन्स बढाउन वा सौखिन जीवनलाई अझै शौखिन बनाउन बाहेक अरू केही मद्दत गर्दैन ।


कस्तो लाग्यो ?

यो पनि